मुलुकले चार महिना भन्दा बढी सभामुख विहीन भएको प्रतिनिधिसभाले सभामुख पाएको छ । सभामुख नहुँदा संसद्बाट पारित भएका पाँच वटा विधेयक प्रमाणित गराउने काम समेत हुन सकेको छैन । नयाँ सभामुख अग्नि सापकोटाले तीन वर्ष नेतृत्व गर्ने गरी सभामुखको जिम्मेवारी सम्हाल्नुभएको छ । जनताको सर्वोच्च निकायका रूपमा रहेको प्रतितिधिसभा संसद्को भूमिका बढाउने अवसर र चुनौती सभामुख सापकोटाको काँधमा रहेको छ ।

 

 

नियुक्ति सँगसँगै माइतीघर मण्डलामा विरोधको स्वर सुन्नुपर्ने नियतिका साथ पद सम्हालेका सापकोटालाई सर्वोच्च अदालतले दिने फैसलाको त्रास त कायम नै छ तर आफ्नो हातमा नरहेको यस सन्दर्भमा यतिखेर आएर उहाँले चिन्तित रहनु आवश्यक छैन । चिन्ता केबल प्रतिनिधि सभाको प्रभाकारितामा केन्द्रित गर्नु आवश्यक छ जो उहाँको हातमा छ । प्रतिनिधि सभामा २ सय ७५ सांसद रहेका छन् । संसद्मा पेस भएको विधेयकका बारेमा छलफल र बहस गर्ने थलो संसद् नै हो । जनतामा छाएको तीव्र गतिको विकासको आकांक्षालाई सम्बोधन हुने गरी नीति निर्माण गर्नुपर्ने आजको आवश्यकता हो ।

 

 

विगतको दुई वर्षको अवधिमा संसद्को प्रभावकारिता नदेखिएको गुनासो हुँदै आएको छ । संसद्मा आउने, हाजिर गर्ने र मोबाइल चलाएर समय बिताउने काम सांसदको होइन । प्रश्न उठ्ने गरेको छ– जननिर्वा्चित सांसदहरू संसद्मा जान किन जाँगर देखाउँदैनन् ? जनताको समस्याको उठान गर्ने र समाधान खोज्ने थलो पनि संसद् नै भएकाले यस विषयमा सबैको चासो रहनु स्वाभाविक छ । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने र समस्याका समाधान खोज्ने दायित्व सरकारको हो ।

Leave a Reply