काठमाण्डौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट पार्नुभएको छ ।सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली मनलाई विभाजित गर्ने र साम्प्रदायिक विद्वेष मच्याउन नदिने बताउनुभएको हो ।
अराजकता र कानुन विपरीतका क्रियाकलाप सफल हुन र मौलाउन पनि दिइँदैन उहाँले भन्नुभयो।राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपद्लगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिनुभएको थियो ।
उहाँले सशस्त्र बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षालाई सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिनुभएको छ ।