रौतहट,रौतहटको मौलापुर नगरपालिका–स्थित पतौराधाम महादेव मन्दिरमा मधानी महायज्ञ आजदेखि सुरु भएको छ । भगवान शिव–पार्वतीको विवाह उत्सवका रूपमा मनाइने यो महायज्ञ तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुने जनाइएको छ ।मौलापुर नगरपालिकाको आयोजनामा सुरु भएको महायज्ञअन्तर्गत पहिलो दिन शिव–पार्वतीको बरात यात्रा निकालिएको छ । पतौराधाममा प्रत्येक वर्ष भगवान शिवको बरात यात्रा निकाल्ने परम्परा रहेको छ ।

बरात यात्रामा आजपा अध्यक्ष प्रभु साह, मौलापुर नगरपालिकाकी मेयर रिना साहसहित नेपाल र भारतका भक्तजनको सहभागिता थियो ।पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने संकल्पका साथ मधानी महायज्ञ आयोजना गरिएको मेयर साहले बताउनुभयो । उहाँका अनुसार महायज्ञले धर्म–संस्कृतिको संरक्षणसँगै नेपाल–भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

“मधानी महायज्ञको आज पहिलो दिन हो । यहाँ विशेष पूजा गरिन्छ । भगवान शिवको बरात यात्रा यहाँ विशेष रूपमा मनाइन्छ । नेपाल र भारतका दर्शनार्थीको ठूलो सहभागिता रहने गर्छ,” उहाँले भन्नुभयो ।प्रत्येक वर्ष शिव–पार्वतीको विवाह उत्सवका रूपमा मनाइने मधानी महायज्ञमा विभिन्न शिवमण्डलीबीच प्रतिस्पर्धात्मक प्रस्तुति, धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम तथा अन्य गतिविधि हुने कार्यक्रम छ । बरात यात्रामा हात्ती, घोडालगायतका आकर्षणसमेत समावेश गरिएको थियो ।

पतौरा महादेव मन्दिर क्षेत्रमा वर्षौँअघि शिवको मूर्ति फेला परेपछि पुरातत्व विभागले उत्खनन गरेको थियो । उत्खननका क्रममा ऐतिहासिक महत्वका मन्दिर तथा गुप्तकालीन संरचना र वस्तुहरू फेला परेका थिए । ती पुरातात्त्विक सम्पदाको संरक्षण गर्दै क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहेको जनाइएको छ ।मधानी महायज्ञमा नेपाल र भारतका लाखौँ दर्शनार्थी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रमलाई लक्षित गरी आवश्यक शान्ति–सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायले जनाएको छ ।

Leave a Reply