निजगढ,वन क्षेत्रबाट जथाभावी दाउरा संकलन गर्ने क्रम बढेपछि निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रबाट दाउरा संकलनमा कडाइ गरेको छ ।वन समूहले हिजो एउटा सूचना निकालेर यसअघि उपभोक्ताले गर्दै आएको दाउरा संकलनको समय तालिका र अन्य व्यवस्थामा पनि परिवर्तन गरिएको जनाएको छ । समूहका अध्यक्ष खडगबहादुर मोक्तानको हस्ताक्षरमा जारी गरिएको सूचना अनुसार आगामी फागुन १ गतेदेखि वन समूहका सदस्य उपभोक्ताले हप्ताको १ दिन शनिवार मात्र दाउरा संकलन गर्न पाउने र वन उपभोक्ता सदस्य परिचय पत्र नभएकाहरुलाई वन प्रवेशमा रोक लगाइएको छ ।

वन समुहको माघ २६ गते बसेको बैठकको निर्णय अनुसार समूहका उपभोक्ता सदस्यहरुलाई घरायसी प्रयोजनको लागि सालबाहेक अन्य जातका झिजामिजा र दाउरा दैनिक रुपमा संकलन गर्न दिइदै आइएकोमा फागुन महिनाबाट हप्ताको एक दिनमात्रै दाउरा संकलन गर्न पाइने व्यवस्था गरेको हो ।त्यसैगरी सूचनामा वन क्षेत्रभित्र प्रवेश गर्ने उपभोक्ताको साथमा अनिवार्य रुपमा समूहको सदस्य कार्ड हुनुपर्ने र उपभोक्ता सदस्य बाहेक अन्यलाई वन प्रवेशमा निषेध गरिएको पनि जनाइएको छ । सूचनाको बेवास्ता गरि तोकिएको बार र व्यक्तिभन्दा बाहेकको अन्य दिनमा वन क्षेत्रमा प्रवेश गरेको पाइए सामुदायिक वन ऐन अनुसार कारबाही गरिने पनि सूचनामा जनाएको छ । दाउरा संकलन गर्ने नाममा गैह् उपभोक्ताहरुले समेत अनाधिकृत रुपमा वन क्षेत्रमा प्रवेश गरी दाउरा संकलन गरेको पाइएपछि वन संरक्षणको लागि नयाँ व्यवस्था मिलाइएको समूहका उपाध्यक्ष रामकुमार सिंजालीले जानकारी दिनुभयो ।

वन संरक्षणमा जनज्योति सामुदायिक वन समूह बारा जिल्लामै उत्कृष्ट मानिएको छ । सो समूहले वन संरक्षणमा उत्कृष्ट कार्य गरेबापत गत वर्ष १ लाख राशीको गणेशमान सिंह सामुदायिक वनको प्रथम पुरस्कार प्राप्त छ ।३८७ हेक्टर क्षेत्रमा फैलिएको यो वन समूहमा ४ सय ३४ घरधुरी उपभोक्ता सदस्य रहेका छन । ०६६ सालमा हस्तान्तरण भएर उपभोक्ताहरुले संरक्षण गर्नथालेपछि समूहको वनमा डढेलो, चोरी सिकारी र काठको तस्करी रोकिएको छ

Leave a Reply