वीरगंज, २१ साउन– समुदायमा आधारित सामाजिक संस्था सानोपाइलाले वीरगंजस्थित कलवार धर्मशालामा नेपाली सेना र नेपाल प्रहरीका कोरोना संक्रमित जवानहरुको लागि ४ शैैयाको आईसोलेसन केन्द्र स्थापना गरेको छ ।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार संस्थाले स्थापना गरेको आईसोलेसन केन्द्र मंगलबारबाट सञ्चालनमा आएको हो । कोरोना भारइरस नियन्त्रण र न्युनीकरणको लागि अंग्रपंक्तिमा रहेर काम गर्ने क्रममा संक्रमित भएका नेपाल प्रहरी र नेपाली सेनाका जवानहरुलाई केन्द्रमा राखिने सानोपाइला संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले जानकारी दिनुभयो ।
केन्द्रका राखिएका संक्रमितलाई संस्थाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसारको खाद्यान्न उपलब्ध गराउने पनि झाले बताउनुभएको छ । ‘एउटा निश्चित स्थानमा भोजन पकाएर सुरक्षितरुपमा आइसोलेसनमा रहेकाहरुसम्म पुर्याउने व्यवस्था मिलाइएको छ, उहाँले भन्नुभयो, देश विषम परिस्थितिमा रहेको बेला सानोपाइलाले एउटा सानो काम गर्ने प्रयास गरेको छ ।’
सरकारले बन्दाबन्दी (लकडाउन) घोषणा गरेयता संस्थाले कोभिड–१९ का संक्रमितहरुलाई यसअघि देखि नै वीरगंज र जनकपुरमा पनि निशुल्क पौष्टिक भोजनको प्रवन्धसहित स्वास्थ्य सामाग्री वितरण र एकीकृत हेल्प डेस्कसमेत संचालन गर्दै आएको छ ।
पछिल्लो समय पर्सामा समुदायस्तरमै कोरोना परिक्षण गर्न थालिएपछि संक्रमितको संख्या अप्रत्यासितरुपमा बढ्दै गएको र पछिल्लो हप्तादेखि वीरगंज महानगरपालिका कोरोना संक्रमणको हटस्पटकै रुपमा देखा परेको र कोरोना विशेष अस्पतालहरुमा संक्रमित राख्ने ठाउँ अभाव कतिपय बिरामीहरुलाई चिकित्सकीय परामर्शमा घर (होमआईसोलेसन) मै बस्नु परेको अवस्थालाई ध्यानमा राखेर आइसोलेसन केन्द्र स्थापना गरेको संस्थाले बताएको छ ।
नेपाल, बिड फोर नेपाल र बुढानिलकण्ठ स्कूलपूर्व विद्यार्थी समाजको आर्थिक सहयोगमा सानोपाइलाले वीरगंजमा केन्द्र स्थापना गरेको हो ।