निजगढ,निजगढको श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा आजबाट शुरु भएको श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव तथा श्रीमद् भागवत ज्ञान महायज्ञको एक भव्य कार्यक्रमबीच उद्धाटन भएको छ ।भारतको नवतनपुर धामका आचार्य कृष्णमणी महाराजजीले पानसमा बत्ति बालेर बिहान ११ बजे महोत्सवको उद्धाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै उहाँले आज विश्वमा असर र खराब विचारबीचको द्वन्द बढ्दै गएको र मानिसहरुले यसको पहिचान गरेर सत्यको बाटोमा लाग्नुपर्ने बताउनुभयो । ‘नराम्रा विचारसंगै राम्रा विचारहरु पनि छन, उहाँले भन्नुभयो, अन्तिममा सही र सत्यको नै जित हुने छ ।’

निजगढमा आयोजना गरिएको श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव सत्यको पक्षमा बढ्दै गएको विचारको उद्धाहरण भएको बताउँदै महाराज कृष्णमणीले यसबाट समाजमा सदाचार, सत्मार्ग र निजगढको धार्मिक पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो । नेपालको आर्थिक विकासमा धार्मिक पर्यटनले महत्वपूर्ण योगदान पु¥याउन सक्ने र देशको अर्थतन्त्रमा सुधार हुने पनि बताउनुभयो । उहाँले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्दै आयोजक समिति र सहयोगको लागि निजगढ नगरपालिका कार्यालयप्रति आभार पनि व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले महत्सव निजगढबासीको लागि गौरवको कार्यक्रम भएको बताउँदै पालिकाले कार्यक्रमको अपनत्व लिएर सहयोग गर्दैआएको बताउनुभयो ।महोत्सवको उद्धाटनअघि महाराज कृष्णमणीले कृष्ण मन्दिरमा गजुर (कलश) अनावरण गर्नुको साथै मन्दिर परिसरमा धार्मिक विरुवा ‘खिजडा’ रोप्नु भएको थियो । कृष्णमणी महाराज आज दिउसो २ बजे नै फर्किनुभएको छ ।

यसअघि महोत्सवमा सहभागी हुन आइपुग्नुभएका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज बिहान महोत्सवको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले धर्मले समाजमा सद्भाव कायम राख्न मद्दत गर्ने बताउनुभयो ।महोत्सवकै क्रममा आज बिहान निजगढमा कलश शोभा यात्रा निकालिएको थियो । हात्ती, घोडासहित हजारौ श्रद्धालु भक्तजनको लावालस्करसहित मन्दिर परिसरबाट निकालिएको सो कलश यात्राको क्रममा निजगढका विभिन्न स्थान परिक्रममा गरिएको थियो ।

यसैबीच आजबाट मन्दिरमा श्रीमततारम सागर १०८ पारायण, श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको प्रारम्भ भएको छ । श्रीमद्भागवत भाष्कर महन्तश्री १०६ सुधाकर महाराजजीले कथा वाचन गरेर महायज्ञको आरम्भ गर्नुभएको थियो ।
महोत्सव अन्तर्गत भोलिबाट प्रतेक दिन बिहान ५ बजेदेखि ६ बजेसम्मः मङ्गलारती (प्रातकालीन सेवा), बिहान ६ बजे देखि ७ः३० सम्म योग, ध्यान, चितवनी, बिहान ७ः ३० बजेदेखि ९ः०० सम्म वाणी चर्चा÷आर्शीवचन, बिहान ९ बजेदेखि ९ः३० सम्म अल्पआहर, बिहान ९ः३० बजेदेखि १०ः१५ सम्म सेवा पूजा मंगलाचरण, पुष्पाञ्जली, पाठपारायण प्रारम्भ, बिहान १०ः१५ बजेदेखि १२.१५ बजेसम्म वाणी चर्चा, दिउसो १ः१५ बजेदेखि २ बजेसम्म सन्तमहन्त तथा आगन्तुक अतिथिहरुको शुभभाव प्रवचन, दिउसो २ बजेदेखि ४ बजेसम्म श्रीमद् भागवत कथा वाचन हुने छ ।

त्यसैगरी दिउसो ४ बजेदेखि ४ बजेसम्म सम्मान, दिउसो ४ः३० बजे आरती तथा प्रसाद वितरण, साँझ ६ बजेदेखि ७ सम्म सन्ध्या आरती, राति ८ बजेदेखि १० बजेसम्म भजन, कीर्तन, प्रवचन तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ । महोत्सवमा देशविदेशमा ख्यातिप्राप्त दर्जनौं विद्धान तथा विदुषि र हजारौ श्रद्धालु भक्तजनहरु सहभागी भएका छन ।

Leave a Reply