वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंहासन साह तेली आज औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेका छन । नगर प्रमुख सिंह र तेली गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका थिए ।जिल्लास्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) ले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
उनीहरू यसअघि नै एमाले प्रवेश गरेर पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएका पूर्वमन्त्री प्रदीप यादव निकट मानिन्छन् ।यादवको राजनीतिक यात्रालाई पछ्याउँदै उनीहरू पार्टी परिवर्तन गर्दै आएका हुन् । यसअघि पूर्वमन्त्री यादवले जनता समाजवादी पार्टी नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गर्दा पनि उनीहरूले यादवलाई नै साथ दिएका थिए ।वीरगञ्जको विकासलाई नयाँ उचाइमा पु¥याउन र राष्ट्रिय राजनीतिमा सकारात्मक परिवर्तन ल्याउन एमालेसँग सहकार्य गर्ने निर्णय गरेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सिंहले बताउनुभएको छ ।


















