गोकुल घोरसाइने
निजगढ,फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बाराको क्षेत्र नम्बर ४ जिल्लामा सर्वाधिक चर्चामा छ । दलहरुको राजनीतिक र सांघठानिक आधारसंगै जातीय मुद्दा र उम्मेदवारहरुको व्यक्तिगत प्रभावले परिणाममा निर्णायक असर पार्दैआएको यो क्षेत्रबाट यस पटक कसले बाजी मार्ला भनेर सर्वत्र चासो बढेको छ ।मुस्लिम बहुल यो क्षेत्र ०४८ सालपछिका २ बाहेक सबै निर्वाचनमा मुस्लिम समुदायकै उम्मेदवारहरु विजयी हुदैआएका छन । ०४८ र ०५१ मा नेकपा एमालेका सालिम मिया अन्सारीले लगातार जितेको सो क्षेत्रमा ०५६ सालको प्रतिनिधि सभा निर्वाचन भने नेपाली काग्रेसका फरमुल्लाह मन्सुर विजयी हुनुभएको थियो । अघिल्ला २ निर्वाचनमा मन्सुर निकटतम प्रतिद्वन्दी हुनुहुन्थ्यो ।
तर पहिलो संविधान सभा निर्वाचनमा भने संविधान मुस्लिम उम्मेदवारलाई पछि पार्दै तत्कालिन तमलोपा पार्टीका जितेन्द्रप्रसाद सोनार तर दोस्रो संविधान सभा निर्वाचनमा भने फेरि मुस्लिम समुदायबाटै एमालेकी नजुमा खातुन र ०७४ को आम निर्वाचनमा पनि रामइकवाल मिया नै विजयी बन्नुभयो ।
जितेन्द्र सोनलपछि ०७९ को चुनाव भने तत्कालिन नेकपा एकिकृत समाजवादीका किसान श्रेष्ठले जित्नुभएको थियो । श्रेष्ठ फेरि चुनाव जित्ने अभियानमा यस पटक नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको छ । उहाँलाई रोक्न नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरु लागेका छन् ।स्थानीयहरूका अनुसार भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सो क्षेत्रको राजनीतिक र जातीय परिदृश्यमा ठूलो फेरबदल आएको छ ।
गत निर्वाचन जितेका उम्मेदवारले दल परिवर्तन गरेको, मुस्लिम मतदाताको मत तान्नसक्ने उम्मेदवारको अभाव र नयाँ दलप्रति आकर्षण बढेको लगायत कारणले बारा ४ मा यस पटक प्रतिस्पर्धा रोचक र नाटकीय हुनसक्ने स्थानीयको भनाइ छ । तर, कुनै समय एमालेमा रहेका पूर्वआईजीपी सर्वेन्द्र खनाल पनि यही क्षेत्रबाट समुन्नत नेपाल पार्टीबाट चुनाव लड्दै हुनुहुन्छ ।
नेकपा एमाले र काग्रेसको संगठन बलियो रहेको जानकारहरू बताउँछन् । तर, जेनजी आन्दोलन र सिमरा घटनापछि रास्वपाको पक्षमा पनि आकर्षण बढेको देखिन्छ ।मतदाता एसएस पटेलका अनुसार बालेनलाई प्रधानमन्त्री बनाउनका लागि पनि रास्वपामा भोट हाल्नु पर्छ भन्ने युवाहरु बढ्न थालेका छन् । रास्वपाले मुस्लिम मतदाताको मत तान्न रहवर अन्सारीलाई उम्मेदवार बनाएको छ । तर अर्को जिल्लाको बासिन्दा भएकोले अन्सारीको पक्षमा उक्त समुदायको भोट पर्ने पनि निश्चित देखिदैन ।
२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, लोसपासँगको गठबन्धनबाट एकीकृत समाजवादीको कलम चिन्हबाट किसान श्रेष्ठ निर्वाचित भएका थिए । ३० हजार ३४१ मत ल्याएका उनले एमालेका एकवाल मियाँलाई २० हजार ३३६ मतमा रोके । श्रेष्ठ अन्य उम्मेदवारको तुलनमा निकै प्रभावशाली देखिनुहुन्छ । एमालेबाटै उम्मेदवारी पाएपछि श्रेष्ठ चुनाव जित्ने कुरामा ढुक्क जस्तै देखिनुहुन्छ । ‘क्षेत्रमा एमालेको संघठन सबैभन्दा बलियो छ, जीतपुरसिरा एमाले नगर कमिटीका अध्यक्ष त्रिलोकविक्रम शाहले भन्नुभयो, त्यसमाथि पनि व्यक्तित्व र प्रभाव पनि अन्य उम्मेदवारको धेरैमाथि छ ।’ यस पटकको निर्वाचनमा पनि एमाले नै विजयी हुने शाहले दाबी गर्नुभएको छ । अघिल्लो निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका मियाँको साथले श्रेष्ठ उत्साहित हुनुहुन्छ । मियाँलाई एमालेले समानुपातिक सूचिबाट उम्मेदवार बनाएको छ । तर, श्रेष्ठमाथि चुनावको मुखमा दल बदलेर उम्मेदवार बनेको आरोप पनि छ । यो उहाँको लागि चुनौति बन्ने देखिन्छ ।
श्रेष्ठलाई कांग्रेसका श्यामबाबु गुप्ता र राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारीले चुनौती दिँदैछन् । काग्रेस उम्मेदवार गुप्ताले विगतमा गठबन्धका कारण रुख चिन्हमा निर्वाचन लड्न नपाएको भन्दै यसपटक पार्टीमा मत दिन पाइने उत्साह मतदातामा थपिएको बताउनुभयो ।
आफू स्थानीय भएकोले मतदाताले साथ दिनेमा पनि उहाँ आशावादी देखिनुहुन्छ ।‘१० वर्षदेखि यहाँको जनताले रुख चिह्नमा भोट हाल्न पाएका छैनन् । यो पटक रुखबाट उम्मेदवार खडा हुँदा जनता उत्साहित छन्,’ गुप्ताले भन्नुभयो ।
यस्तै, छिमेकी जिल्ला पर्सा १ क मा तत्कालीन नेकपा माओवादीबाट प्रदेश सभाको निर्वाचन जित्नुभएका रहबर अन्सारी रास्वपा प्रवेश गरेर यसपटक बारा ४ आउनुभएको हो ।अन्सारी वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का स्थायी बासिन्दा हुनुहुन्छ, जुन बाराको क्षेत्र नम्बर ४ सँग जोडिएको छ ।मुस्लिम समुदायको राम्रो मत रहेको र सोही मत प्राप्त गर्ने विश्वसमा अन्सारीले यो क्षेत्र रोजेको हुनसक्ने बताइन्छ । यद्यपि एमालेको बलियो प्रभाव रहेको मानिने सिमरा क्षेत्रमा पनि जेनजी आन्दोलनपछि रास्वपाको पक्षमा मत बढेकोले अन्सारी थप उत्साही बन्नुभएको छ ।
त्यसबाहेक गत निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका पवन चौधरीले ३ हजार ८ सय ८४ मत ल्याएकाले पनि यो क्षेत्रमा रास्वपाबाट आफूहरूलाई सहज भएको अन्सारीको सचिवालयका सदस्य इमरान अन्सारीले बताउनुभयो ।
‘अहिलेको अवस्था हेर्दा रास्वपाको प्रतिस्पर्धी कोही पनि छैन,’ उहाँले भन्नुभयो, ‘अहिले देशभर नै घण्टीमय छ । बालेनको नेतृत्वमा सरकारमा जाने घोषणा सहित अघि बढेका छौँ । जनता जागिसकेका छन् । बालेनलाई प्रधानमन्त्री बनाउन चुपचाप घण्टी चिह्नमा मत जान्छ ।’यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका अजय कुशवाह पनि उम्मेदवार हुनुहुन्छ । बास्केटबल खेलाडी उहाँ हाल २७ वर्षको हुनुभयो । जेनजी आन्दोलनमा सहभागी कुशवाहका बुबा रामचन्द्र प्यासी एमालेका पुराना नेता र संविधान सभा सदखस्य पनि हुनुहुन्थ्यो । बुवाको कारण र जेनजी मुभमेन्टमा सहभागी भएकाले अजय कुशवाहले नसोचेको मत ल्याउने मतदाता विदुर खड्का बताउँनुहुन्छ ।
बारा ४ मा २० राजनीतिक दल तथा १९ स्वतन्त्र उम्मेदवार गरी ३९ जना सिंहदरबारको यात्राका लागि प्रतिस्पर्धामा छन् ।
प्रलोपाका अवधिकिशोर कुशवाह, जनता समाजवादी पार्टीका सन्जु साह कानु, जनमत पार्टीका हसनजान मियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिपकुमार नेपाल, आम जनता पार्टीका उमेशकुमार कुशवाह, श्रम संस्कृति पार्टीका गोपालकुमार खत्री, नेपाल लोकतान्त्रिक पार्टीका सुरेश प्रसाद, उज्यालो नेपाल पार्टीका सन्तोषकुमार गुप्ताको उम्मेदवारी परेको छ ।
यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका सुब्बालाल तामाङ, राष्ट्रिय जनमोर्चाकी सरस्वती उपाध्याय, संघीय समाजवादी पार्टीका कलामुद्दिन हवारी, युनाइटेड नेपाल डेमोक्रेटिक पार्टीका नरबहादुर श्रेष्ठ, प्रजातान्त्रिक पार्टी नेपालकी मुन्नी खातुन, राष्ट्रिय एकता दलका विनय यादव, राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल र राष्ट्र निर्माण दलका समिम मियाँ अन्सारीको उम्मेदवारी परेको छ ।स्वतन्त्र रुपमा उषा बुढाथोकी, नसिमा खातुन, विमला खतिवडा, असरार आलम ठकुराइ, शम्भु यादव, सञ्जु चौधरी, भोला मियाँ, मंगेश्वर पटेल, भेखनारायण साह, वैधनाथप्रसाद साह, पूर्णप्रसाद पन्थ, दीपकसिंह चौधरी, मुकेशकुमार रौनियार, मोहन चौलागाईं, राजदेव राम, सन्दीप यादव, धीरेन्द्र चौधरी, निराजनकुमार, साकिब आलम मन्सुरीले दर्ता गराएका छन् ।



















