निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरत परीले संघीय सरकारबाट बजेट विनियोजन भएका निजगढका ५ वटा आयोजनाहरु तत्काल कार्यान्वयनको माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई आज ध्यानाकर्षण पत्र बुझाउनुभएको छ ।निर्माणाधीन काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको अनुगमनको क्रममा सेनाको हेलिकोप्टरमार्फत निजगढ आउनुभएकी प्रधानमन्त्री कार्कीलाई मेयर पुरीले निजगढ नगरपालिकाको तर्फबाट ध्यानाकर्षणपत्र बुझाउदै चालु आर्थिक वर्षमा ३ करोड रुपैयासम्म बजेट विनियोजना भएर हालसम्म पनि रोकिएका आयोजनाहरु तत्काल संचालन गर्न माग गर्नुभएको हो ।
नगर प्रमुख पुरीले ध्यानाकर्षणपत्रमार्फत निजगढ स्मार्ट सिटीमा स्मार्ट एप्लिकेशन, निजगढ ९ को बसपार्क निर्माण तथा निजगढ १ को चौबाटो पिपलटार सडक स्तरोन्नतिलगायतका आयोजनाको काम अघि बढाउन माग गर्नुभएको छ ।
त्यसैगरी निजगढको डम्मरपुर– कोलगाउँ– रामथली– बुडजोर हुँदै निजगढको मोहोरी जोडने सडक कालोपत्रे, गौरीशंकर क्याम्पस भवन, निजगढ २ को श्री लोकप्रिय आधारभूत विद्यालय भवन र निजगढ ११ को नेरामावि भवन निर्माण, निजगढ १ को चौबाटो, शिव मन्दिर कछडिया टोल हाट बजारदेखि उत्तर पिपलटारसम्म सडक स्तरोन्नति तथा निजगढ ४ को गणेशमान सिंह पार्क मोहोरी व्यवस्थापन आयोजनामा पनि काम अघि नबढेको जनाउदै नगर प्रमुख पुरीले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराउनु भएको हो ।
नगर प्रमुख पुरीले बुझाएको पत्रमा निजगढ नगरपालिका दु्रतमार्गसहित राष्ट्रिय गौरवका चार वटा आयोजनाको संगमस्थल भएको उल्लेख गर्दै संघीय सरकारबाट बजेट विनियोजन भएका योजनाहरु कार्यान्वयनमा नआउदा नगरको विकास प्रभावित भएको जनाइएको छ ।नगर प्रमुखको ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले निजगढका विकास आयोजनाहरुको कार्यान्वयनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले स्मार्ट सिटी अन्तर्गत रोकिएका आयोजनाहरु नगरको दीर्घकालीन विकाससँग जोडिएको उल्लेख गर्दै संघीय सरकारको प्राथमिकतामा राखिने बताउनुभएको थियो ।
यसैबीच प्रधानमन्त्री कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पु¥याउन नहुनेमा जोड दिनुभएको छ ।काठमाण्डौ– तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा आज नेपाली सेनाको सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयको सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री कार्कीले आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्ने बताउनुभयो । यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको अहिलेसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो ।नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुत मार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतमा समय लाग्दा आयोजनाको काम शुरु गर्न केही ढिलाइ भएको थियो ।
कुल ७०.९७७ किलोमिटर लम्बाइको आयोजनाको भौतिक प्रगति अहिलेसम्म झन्डै ४५ प्रतिशत हाराहारी छ । द्रुतमार्गअन्तर्गत ८७ वटाभन्दा बढी पुल निर्माण गर्नुपर्नेछ । तीमध्ये केही विशिष्ट प्रकृतिका ८२ मिटरसम्म अग्ला पुल छन् । त्यस्ता पुलसमेत निर्माणको अन्तिम चरणमा पुगिसकेकाले आयोजना निर्धारित मिति आउँदो २०८३ चैत मसान्त र प्रारम्भिक अनुमानित लागत २ खर्ब १३ अर्बभित्रै निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ ।यो काठमाण्डौ उपत्यकासँग मध्यतराईको सिधा सम्पर्क जोड्ने छोटो दूरीको राजमार्ग हुनेछ । निर्माणपछि तराईबाट काठमाण्डौ ल्याइने सामान ढुवानीमा ठूलो मात्रामा लागत र समय घट्ने तथा देशको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा छ । आयोजनाअन्तर्गतका सात वटा सुरुङ छन् ।सेनाले आयोजनाको लक्ष्यअनुसार कार्यसम्पन्न गर्न विशेष प्रयास गरिरहेको सेनाले जनाएको छ ।


















