वीरगञ्ज,नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको अध्यक्षमा डा. मनोजकुमार गुप्ता पुनः निर्वाचित हुनुभएको छ । वीरगञ्जमा शनिबार सम्पन्न निर्वाचनको मतपरिणाम आइतबार बिहान सार्वजनिक गरिएको हो ।घोषित मतपरिणामअनुसार डा. गुप्ताले २५९ मत प्राप्त गर्दै अध्यक्षमा फराकिलो मतान्तरका साथ विजय हासिल गर्नुभएको हो भने उहाँका प्रतिस्पर्धी डा. राजदेव कुशवाहाले १५७ मत प्राप्त गर्नुभएको थियो । डा. गुप्ता यसअघि पनि संघको अध्यक्ष रहिसकेका थियो ।
यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा भने कुशवाहा प्यानलका डा. पशुपतिनाथ भट्ट २४९ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गुप्ता प्यानलकी डा. तरन्नुम खातुनले १५८ मत प्राप्त गर्नुभयो ।
अन्य पदमा निर्वाचित हुनेहरूमा उपाध्यक्षमा गुप्ता प्यानलका डा. रामकिशोर सिंह, सचिवमा कुशवाहा प्यानलका डा. विकास साह, सहसचिवमा गुप्ता प्यानलका डा. अजयकुमार यादव, कोषाध्यक्षमा कुशवाहा प्यानलका डा. रामाशंकर गुप्ता तथा सहकोषाध्यक्षमा गुप्ता प्यानलका डा. विवेक यादव निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्य पदमा डा. सुप्रिता गुप्ता, डा. रामप्रकाश ठाकुर, डा. दीपक चौरसिया, डा. आदित्यप्रकाश यादव, डा. विशाल साह र डा. विनिता सिंह निर्वाचित भएका छन्। प्रमुख निर्वाचन अधिकृत डा. अमरनाथ ठाकुरले उक्त जानकारी दिनुभएको हो ।नयाँ नेतृत्व चयनका लागि शनिबार वीरगञ्जमा सम्पन्न निर्वाचनमा कुल ७६६ मतदाता रहेकोमा ४२० मत खसेको थियो । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा पर्सा र बारा जिल्लामा कार्यरत चिकित्सकहरू आबद्ध छन् ।


















