काठमाण्डौ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि सबै मुख्य दलहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन् । नेपालको संसदीय अभ्यासमा सामान्यतया चुनावपछि चयन हुने संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने भए पनि यस पटक दलहरूले चुनावअघि नै उम्मेदवार घोषणा गरेका हुन् ।नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । कांग्रेसले २०५६ सालको चुनावमा कृष्णप्रसाद भट्टराईलाई उम्मेदवार घोषणा गरेपछि झन्डै तीन दशकपछि यस्तो निर्णय गरेको हो ।
नेकपा एमालेले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलको तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ ।भर्खरै उदाउँदै गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्नुभएको छ ।उपप्राध्यापक जगत् नेपाल चुनावअघि नै उम्मेदवार घोषणा गर्दा मतदातालाई मनोवैज्ञानिक प्रभाव पर्न सक्ने भए पनि उम्मेदवारले चौतर्फी घेराबन्दीको सामना गर्नुपर्ने चुनौती रहने बताउनुहुन्छ । यस पटक रास्वपाले बालेन्द्र शाहलाई उम्मेदवार घोषणा गरेपछि पुराना दलहरू पनि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेरै चुनावमा गएका हुन् ।


















