काठमाण्डौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले निर्वाचनबाट राष्ट्रिय फैसला दिने बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा मदन–आश्रित स्मृति प्रतिष्ठानको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले एमालेले पार्टीको महाधिवेशन गरिसकेकाले आम निर्वाचन पर्खिरहेको बताउनुभएको हो ।ओलीले निर्वाचन सम्पन्न नभएसम्म कुन लोकप्रिय छ भन्ने चर्चा भइरहने उल्लेख गर्नुभएको छ ।‘हामी चुनाव पर्खिरहेका छौं । चुनावबाट नै हामी राष्ट्रिय फैसला दिने छौं ।’ उहाँले भन्नुभएको छ ।

एमाले महाधिवेशनबाट स्पष्ट सन्देश लिएर निर्वाचनमा होमिन लागेको पनि जानकारी गराउनुभएको छ । लोकतन्त्रलाई कसैले पराजय गर्न नसक्ने उहाँको भनाइ छ । ओलीले सबैतिर एमाले देखेपछि सबैसँग मिलौं भनेर विपक्षी लागि परिरहेको पनि बताउनुभएको छ ।रास्वपा, उज्यालो नेपाल पार्टी र बालेन शाहबिच एकतालाई उहाँले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर एमालेलाई केही नहुने दाबी गर्नुभएको छ । ओलीले सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्ने दाबी गर्नुभएको छ ।

ओलीले देश अफ्यारो स्थितिमा भएका बेला अदालतले तदारुकतासाथ सहजता र तीव्रताका साथ निर्णय दिनुपर्ने धारणा राख्नुभयो । उहाँले लोकतन्त्र छोड्न र मासिन दिन एमाले र जनता तयार नभएको बताउनुभएको छ ।यस्तै एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले एमाले–कांग्रेसले तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको हो । उहाँले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमालेले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाइ गर्न नहुने तर्क गर्नुभएको थियो ।
उपाध्यक्ष थापाले संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस एमालेले प्रतिगमनकारीहरूलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्ने तर्क गर्नुभएको छ ।

Leave a Reply