कलैया,शुक्रबारदेखि एकाएक चिसो बढेपछि बारालगायत मधेस प्रदेशका जिल्लामा जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सु र चिसो बढेपछि यहाँका सर्वसाधारणले शीतलहरको अनुभूति गर्न थालेकाछन ।अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको बारालगायत मधेसका जिल्लामा शुक्रवार बिहानबाट मौसममा अचानक बदली आएपछि सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ ।
बिहानैदेखि बाक्लो हुस्सु, पश्चिमी चिसो स्याँठ र दिनभरि घाम नलाग्दा तापक्रममा उल्लेख्य गिरावट आएको छ । बिहीबार चर्को घाम लागेको अवस्थामा शुक्रबारबाट भने मौसम एकाएक बदली भएको थियो । मधेसका जिल्लाका सर्वसाधारणले २ दिनदेखि घामको ‘मुख’ देख्न पाएका छैनन ।बिहानदेखि सिमसिम परेको तुषारोले जाडो अझै बढाएको स्थानीयले बताएका छन् । बाराको कलैया लगायत दक्षिणी र उत्तरी भेगको निजगढ लगायत पालिकाहरुमा चिसो बढेको देखिएको छ ।
मङ्सिर–पुस लागेसँगै मधेसमा हरेक वर्ष शीतलहरको प्रकोप देखिँदै आएको छ । गत वर्ष २०८१ साल पुस २४ गतेदेखि तापक्रम घटेको थियो भने यस वर्ष पुस ४ गतेदेखि नै शीतलहरका लक्षण देखिएको छ ।कठ्याङ्ग्रिने जाडोका कारण सडकमा पैदल यात्रीको सङ्ख्या घटेको छ । बिहानैदेखि सवारी चाप रहने पूर्व–पश्चिम राजमार्ग र विपी राजमार्गमा दिनभरि बत्ती बालेर सवारी साधन गुडिरहेको देखिएको छ । जाडोका कारण सडका गुडने सवारीको सङ्ख्या पनि घटेको छ । त्यस्तै चिसोका कारण हाट बजार र सार्वजनिक स्थलहरुमा सर्वसाधारणको चहलपहल पनि पातलिएको छ भने मोटरसाइकल र साइकल यात्रीहरुको संख्या कम भएको छ ।
चिसोका कारण सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धालाई समस्या भएको छ । चिसोले बाल बालिका तथा बृद्धृबद्धामा रुखाखोकी, ज्वरो, कोलडायरीया लगायतका रोगहरु देखिएको कलैया अस्पतालले जनाएको छ ।चिसोले जिल्लाको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिकाको करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, आर्दशकोतवाल गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, फेटा गाउँपालिका, बिश्रामपुर गाउँपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकाको जनजीवन प्रभावित भएको छ ।
सामान्यतया बिहान ८ बजे खुल्ने बजारका पसलहरू १० बजेसम्म पनि अधिकांश बन्द देखिएका थिए । मधेस प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयाका डा. राजीव झाका अनुसार शीतलहरको समयमा शरीरको तापक्रम अत्यधिक घट्दा ‘हाइपोथरमिया’ हुने जोखिम बढ्छ ।यस समयमा श्वासप्रश्वासको सङ्क्रमण, दम, रुघाखोकी, रक्तचाप बढ्ने, कान दुख्ने जस्ता समस्या देखिन सक्छन् । हाइपोथरमियाबाट बच्न अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, शरीर न्यानो राख्न र झोलिलो तथा पोषिलो खानपानमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
दुई दिन अघिदेखि बढेको चिसोका कारण बाराको जनजीवन प्रभावित भएको छ । शुक्रवार बिहानबाट शुरु भएको बाक्लो हुस्सु र शितलहरले अत्याधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित बनेको हो । दिनभरी पश्चिमी हावा चल्न थालेपछि चिसो बढदै गएको हो ।
सिमरा विमानस्थल दोस्रो दिन पनि ठप्प
सिमरा,सिमरा विमानस्थलबाट सञ्चालन हुने सबै हवाई उडान आज दोस्रो दिन पनि रद्द भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी पावर (दृश्यता) अत्यन्तै कम हुँदा उडान अवतरण सम्भव नभएपछि सम्पूर्ण उडान स्थगित गरिएको हो ।
नागरिक उडान प्राधिकरण सिमराका ट्राफिक एयर कन्ट्रोलर सङ्गम श्रेष्ठका अनुसार आज बिहानदेखि विमानस्थल क्षेत्रमा दृश्यता करिब एक हजार मिटरमा सीमित रहेको छ । उडान सुरक्षाका लागि कम्तीमा दुई हजार चार सय मिटर दृश्यता आवश्यक पर्ने भए पनि हिजोदेखि नै आवश्यक मापदण्डभन्दा कम दृश्यता कायम रहेकाले उडान रद्द गर्नुपरेको उहाँले बताउनुभयो ।
सिमरा विमानस्थलबाट बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाहीसहित छिमेकी मुलुक भारतको रक्सौल आसपासका यात्रुहरुले समेत काठमाण्डौंको यात्रा गर्ने गरेकाछन ।दैनिक रुपमा व्यापार, उपचार, प्रशासनिक तथा निजी कामका लागि सयौँ यात्रु सिमराबाट काठमाडौँ आवतजावत गर्ने गर्छन् ।सामान्य अवस्थामा सिमराबाट काठमाडौँका लागि दैनिक पाँचदेखि २५ वटासम्म जहाजमार्फत उडान हुनेगर्दछ । तर मौसम प्रतिकूल बनेसँगै उडान अवरुद्ध हुँदा यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने कतिपय यात्रुहरु स्थलमार्ग प्रयोग गर्न बाध्य भएका छन ।



















