जनकपुरधाम,मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी मंसिर २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । तर आफूहरुलाई जानकारी नै नदिइ मुख्यमन्त्री यादवले विश्वासको मत लिने मिति निर्धारण गरेकोभन्दै सत्तासाझेदार ७ दलीय गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन ।यसअघि मंसिर २४ गते विश्वासको मत लिने तयारी भए पनि मुख्यमन्त्रीको कार्यव्यस्तताका कारण मिति सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले मंसिर २४ गते नै विश्वासको मत लिने निर्णय गरेको थियो ।
उता, सात दलीय गठबन्धनका नेताहरुले मुख्यमन्त्री यादवले २७ गते विश्वासको मत लिने भन्ने विषयमा सार्वजनिक भएको समाचारप्रति असन्तुष्टि जनाएका छन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयनुल राइनले गठबन्धनले गरेको निर्णय मात्र मान्य हुने र कुनै आमुक दलले मनपरी घोषणा गर्दै हिँडेमा त्यो मान्य नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीजी अहिले काठमाडौँमा हुनुहुन्छ अनि मंसिर २७ गते हुने भनेर भनिदिएर मात्रै हुन्छ ?’ त्यसका लागि गठबन्धनको बैठक आवश्यक भएको र बैठकपछि मात्र विश्वासको मत कहिले लिने मितिको टुंगो लाग्ने बताउनुभयो ।उहाँले मन्त्रालय बाँडफाँटको विषयमा पनि छलफल हुन बाँकी रहेकोले यी सबै कुराको निक्र्योल बैठकपछि मात्र निस्कने पनि बताउनुभयो ।नेपाली कांग्रेसबाट यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त हुनुभएका यादवले मंसिर २१ गते तीन मन्त्रीसहित पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
यादवसँगै जनमत पार्टीका महेश यादवले अर्थमन्त्रीका रूपमा, नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेलले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए। विश्वासको मतका लागि अहिले सानो आकारको मन्त्रिपरिषद गठन गरिएको र विश्वासको मतपछि मन्त्रालयहरूको बाँडफाँड टुंग्याइने मुख्यमन्त्री निकट श्रोतले जनाएको छ ।विश्वासको मतपछि मन्त्रिपरिषदको विस्तार हुँदै अन्य दल पनि सरकारमा सहभागी हुने जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले बताउनुभएको छ ।



















