आर के चौधरी
सखुवाप्रसौनी,पर्साको ग्रामीण भेगमा विगत केहि दिनदेखि बाघको गतिविधि बढेपछि स्थानीय त्रसित बनेका छन् । बाघको गतिविधि बढेपछि राष्ट्रिय वन क्षेत्रसँग सिमा जोडिएका वस्तीका बासिन्दाहरुमा त्रास बढेको हो ।जिल्लाको पटेर्वासुगौली गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकामा आतंक मच्चाउदै आएको बाघ शनिवार राति फेरि जीराभवानी गाउँपालिका प्रवेश गरेर स्थानीयको चौपाय मारेको छ । जीराभवानी गाउँपालिकाको वडा नम्बर ४ मा बाघले पशुचौपायालाई आक्रमण गरेर मारेको गाउँपालिका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष सुभाष राउतले बताउनुभयो । उहाँले बाघले आफ्नो दुई वटा बाख्रालाई बाघले आक्रमण गरेको जानकारी दिनुभयो । राउतले वडा नम्बर ५ हरैया पहाडी टोलस्थित पालेको बाख्रालाई खोरभित्रै पसेर आक्रमण गरेको बताउनुभयो ।बाघले जीराभवानीमा दुईवटा बाख्रालाई खोरमै मारेको र एउटा खसीलाई भने घिसारेर लगेको प्रहरी चौकी शंकरसरैयाले जनाएको छ ।

















