सिमरा,भारतीय र नेपालीको संयुक्त लगानीमा सिमरा सेजभित्र सञ्चालन हुँदै आएको पशुपति सेरामिक्स उद्योग बन्द भएको छ । साझेदारहरुबीच विवाद भएपछि उद्योग डेढ महिना अघि बन्द भएको हो ।उद्योग व्यवस्थापनमा साझेदारका कर्मचारीको सहभागिता, उद्योगमा थप लगानी, सञ्चालन तथा बिक्री प्रक्रिया लगायतका विषयमा दुई साझेदारबीच असहमति बढ्दा गत कात्तिक १ गतेदेखि उद्योग बन्द छ । वार्षिक ८१ हजार टन उत्पादन क्षमता रहेको यस उद्योेगमा नेपाली लगानीकर्ता तुलसी गुप्ता रौनियारको ५० प्रतिशत हिस्सा रहेको छ भने बाँकी भारत गुजरातका आकृति ब्रखुको लगानी रहेको छ । उद्योग स्वदेशी तथा विदेशी गरी करिब सय करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो । पशुपति सेरामिक्सले एटिएस ब्राण्डका टायल उत्पादन गर्दै आएको छ । ५०-५० प्रतिशत हिस्सेदार रहेका दुवै उद्योगीको नेपाल र भारतमा अन्य उद्योग पनि सञ्चालनमा रहेका छन् ।

उत्पादनको हिसाबले सिमरा सेजमा लक्ष्मी ग्रेनाइट पहिलो रहे पनि पूर्वाधार निर्माणको आधारमा पशुपति सेरामिक्स पहिलो हो ।
सेजमा सञ्चालित ए ब्लकको आठवटा प्लट भाडामा लिएको यो उद्योगले २०८० साउनदेखि उत्पादन थालेर स्वदेशी बजारमा विभिन्न भेराइटीका टायल पठाउँदै आएको छ । उद्योगमा स्वदेशी र विदेशी गरी तीन सय श्रमिक कार्यरत छन् । आन्तरिक बजारदेखि सीमावर्ती भारतीय शहरहरु, भुटान र बंगलादेशसम्म निर्यात गर्ने लक्ष्य राखेको पशुपति सेरामिक्सले सेजमा स्थापना भएर उत्पादन थालेको हो ।उद्योग व्यवस्थापनले भने उद्योगमा मेन्टेनेन्सको काम भइरहेको र कार्य पूरा भएपछि उद्योग संचालनमा आउने जनाएको छ ।सिमरा सेजमा स्थापना भएका २५ उद्योगमध्ये ६ वटाले उत्पादन र बिक्री गर्दै आएका छन् । कुल नौ सय बिघा क्षेत्रफलमा फैलिएको सिमरा सेज देशकै ठूलो औद्योगिक पार्क हो । पाँच ब्लकमा रहेको सेजमा ए ब्लक तयार गरी २०७४ चैतमा गार्मेन्ट प्रशोधन केन्द्रका रूपमा शिलान्यास भएको थियो ।

Leave a Reply