दुष्यन्त चौधरी
कलैया,नेपाल–भारत खुला सीमाबाट हुने विभिन्न अवैध गतिविधि, आपराधिक घटना, अवैध ओसारपसार, सामाजिक तनाव र सीमा सुरक्षा सम्बन्धी चुनौती दिन प्रतिदिन बढ्दै गएको भन्दै जेनजी एण्ड युथ कलैयाले बुधवार जिल्ला प्रशासन कार्यालय, बारामा ज्ञापन पत्र बुझाएको छ ।संगठनका अध्यक्ष सौरभ पाण्डेय नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई आवश्यक सुरक्षा व्यवस्था कडा पार्न माग गर्दै ज्ञापन बुझाएको हो ।
‘खुला सीमाबाट हुने अनियन्त्रित आवतजावत, अवैध कारोबार, जनस्वास्थ्यमा पर्ने जोखिम तथा आपराधिक क्रियाकलापमा संलग्न समूहहरूको गतिविधि रोक्न तत्काल प्रभावकारी नीति र कडा निगरानी अनिवार्य भइसकेको छ ।’ ज्ञापनमा भनिएको छ ।
त्यसैगरी ज्ञापनपत्रमा सीमा क्षेत्रमा कडाइ, भेरिफिकेशन डेस्क स्थापना, पहिचान प्रणालीमा कडाइ, डिजिटल निगरानी तथा अवैध कारोबारमाथि कारबाही गर्न पनि माग गरिएको छ ।ज्ञापनपत्रमा जेनजी एण्ड युथले भनेको छ– ‘खुला सीमा नेपालको सामाजिक, आर्थिक र सुरक्षा क्षेत्रमा चुनौती बन्दै गएको अवस्थामा प्रशासनले प्रभावकारी कदम चाल्न ढिलाइ गर्न हुदैन ।
आर्थिक मजबुतीकरण, शान्ति–सुरक्षा, सामाजिक स्थिरता तथा स्थानीय नागरिकको स्वतन्त्र आवतजावत सुनिश्चित गर्दै अपराध रोकथाम गर्ने दायित्व सरकारले प्राथमिकताका साथ लिनुपर्ने संगठनको माग छ ।ज्ञापनपत्रमा समस्या समाधानको लागि दुवै देशका अधिकारीहरुबीच समन्वय हुनुपर्ने पनि भनिएको छ ।जेनजी एण्ड युथ कलैयाले ज्ञापनपत्रमा संघीय, प्रदेश सरकार तथा स्थानीय निकायलाई पहिलो प्राथमिकताका साथ सीमा सुरक्षामा चासो पु¥याउन अनुरोध गरेको छ ।



















