कृष्ण मोहन साह
सेढवा,पर्सामा प्रहरीले गाँजासहित समातेका दुई जना गाँजा तस्करलाई छुटाउन गाँजाका कारोबारी र दलालहरुले प्रहरी चौकीमै पुगेर हुलहुज्जत गर्ने प्रयास गरेका छन ।पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रङ्गपुरटाँडीबाट सोमवार दिउँसो ३ बजेतिर प्रहरी सहायक निरीक्षक रामनिवास साह नेतृत्वको टोलीले बी ए बी २३९८ नम्बरको कारसहित १०४ केजी गाँजा र कारामा सवार मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ का कुमार स्याङ्ताङ र भीमफेदी– ८ का भीम स्याङ्ताङलाई नियन्त्रणमा लिएको थियो ।
गाँजा र कारसहित नियन्त्रणमा लिइएका दुवै जनालाई प्रहरी चौकी रङ्गपुरटाँडीमा राखिएका बेला मंगलवार नै अपरान्ह गाँजाका २ कारोबारी र उनीहरुका ३ जना दलालहरुले केहि मान्छेहरुको भीडसहित प्रहरी चौकीमा पुगेर हुलहुज्जत गर्न खोजेका थिए ।
त्यसपछि प्रहरी सहायक निरीक्षक साहको आग्रहमा ईलाका प्रहरी कार्यालय पेटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वमा १५ जनाको थप टोली प्रहरी चौकी रङ्गपुरटाँडीमा पुगेपछि कारोबारी र दलालहरु त्यहाँबाट फरार भएका थिए ।
मकवानपुरको मनहरीबाट १० पोका गाँजा लोड गरेर बी ए बी २३९८ नम्बरको कार बाराको जीतपुरबाट जनता सडक हुदैं पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले कारमा सवारसहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरीक्षक साहले जानकारी दिनुभयो ।नियन्त्रणमा लिइएको गाँजासहितको कार र दुई जना व्याक्तिलाई प्रहरी चौकी रङ्गपुरटाँडीमा राखिएका बेला केहि व्यक्तिहरु आएर होहल्ला गर्न खोजेपछि प्रहरीको थप टोली पुगेपछि उनीहरु त्यहाँबाट भागेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । नियन्त्रणमा लिइएको गाँजासहितको कार र दुई जना व्याक्तिलाई सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको उहाँले बताउनुभयो ।
यता गाजाँसहित पक्राउ परेकाहरुले गाँजाको तस्करीमा आफुहरुको नाम पोलेपछि त्यसबाट उन्मुक्ति पाउन कारोबारी र दलालहरु मंगलबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालयमा धाउन थालेको प्रहरी श्रोतले जनाएको छ ।यता प्रहरीले भने गाँजा र तस्करहरु छुटाउन प्रहरी चौकीमा पुगेर हुलहुज्जत गर्न खोज्ने कारोबारी र दलालहरुबारे खोजिनीति गरिरहेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।छिमेकी मुलुक भारतको बिहारमा विधान सभाको निर्वाचनका बेला रोकिएको लागू औषध गाँजा, चरेस र अफिमको तस्करी चुनाव सकिएलगत्तै फेरि सुरु भएको छ ।मकवानपुर र धादिङ्गका पहाडी भेगमा उत्पादित गाँजा, चरेस र अफिम भरिया र गाडीमामार्फत पर्साको ग्रामीण भेगमा ल्याएर भण्डारण गरिन्छ । त्यहाँबाट ती लागू औषध पर्साको ग्रामीण भेगका नाका हुदैं भारतमा तस्करी हुदैं आएको छ ।


















