सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाले त्रिभुवन राजपथ र महेन्द्र राजमार्गमा सडक अतिक्रमण गरी टहरा र पसल राख्ने तथा नालामा जथाभावी ढलान गर्ने जस्ता गतिविधि बढेकोभन्दै नियन्त्रणको लागि तत्काल पहल गर्न सडक डिभिजन कार्यालय, हेटौडालाई सोमवार पत्राचार गरेको छ ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको पत्रमा फुटपाथसमेत ओगट्ेर गरिएको यस्ता गतिविधिले सडक अव्यवस्थित र जोखिमपूर्ण बनेको र यसबाट पैदल यात्री, विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित आवतजावतमा गम्भीर समस्या सिर्जना गरेको जनाइएको छ । नगरपालिकाले विगतमा अन्य सरकारी कार्यालयहरूसँग सहकार्य तथा समन्वयमा सडक सचेतनामूलक गतिविधिहरू संचालन गरिरहे पनि प्रभावकारी नियन्त्रण गर्न नसकेको जनाएको छ ।

पत्रमा जथाभावी नालामा ढलान गर्दा वर्षायाममा पानी निकास हुन नसक्ने, सडकबाटै पानी बग्ने र दुर्घटना हुने सम्भावना बढ्ने जस्ता समस्या उत्पन्न हुने गरेको पनि जनाइएको छ । साथै, सडकको भौतिक संरचना बिग्रँदा दैनिक रूपमा सवारी दुर्घटना र मानिसहरूको मृत्यु हुने घटनाहरू बढेको तथ्य पनि प्रकाशमा आएको छ ।नगर प्रमुख राजन पौडेलले तत्काल आवश्यक कारबाही गरी अवैध अतिक्रमण हटाउन, नालामा ढलान भत्काएर सफा गर्न, अव्यवस्थित क्रसिङ व्यवस्थित गर्न र बिग्रिएका सडक खण्डहरूको मर्मत सम्भार गर्न अनुरोध गर्नुभएको छ ।उपमहानगरपालिका कार्यालयले सडक संरचना संरक्षण, सुरक्षित यातायात र दिगो व्यवस्थापनका लागि प्राविधिक सहयोग र समन्वय प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय, बारा र जिल्ला ट्राफिक कार्यालय, निजगढलाई बोधार्थ पनि पठाइएको छ ।

Leave a Reply