सिमरा,सिमरामा जडान गरिएको सिसिटिभी क्यामरा वर्षौंदेखि बन्द अवस्थामा रहेका छन् । मुख्य राजमार्ग क्षेत्र र राजमार्गको भित्री क्षेत्रमा हुने गतिविधि तथा दुर्घटना निगरानी गर्न प्रहरीलाई मद्दत पुगोस भनेर राजमार्ग आसपासमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामरा बन्द भएका हुन ।
सिमरा आसपासको क्षेत्रमा जडान गरिएका दुई दर्जन क्यामरा मध्ये अहिले जम्मा ६ वटा क्यामेरा मात्र सञ्चालनमा रहेका छन । बाँकी सबै क्यामरा बन्द अवस्थामा रहेको सिसिटिभि क्यामरा जडान तथा मर्मत समितिले जनाएको छ ।
समितिका सचिव समेत रहनुभएका जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्माले विभिन्न कारणले वर्षौंदेखि सिसि क्यामरा बन्द अवस्थामा रहेको बताउनुभयो । बिग्रिएका क्यामराहरूको यसअघि मर्मत सम्भार गरी पटक पटक सञ्चालनमा ल्याएको भए पनि पछिल्लो समय मर्मत सम्भारको काम हुन नसकेको उहाँले बताउँनुभयो ।
क्यामराले काम गर्न छोडेपछि सिमरा आसपासका क्षेत्रमा मोटरसाइकल चोरीका घटना बढ्न थालेका छन । लाखौं रकम खर्चेर जडान गरिएको सिसि क्यामेरा मर्मतको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी निजगढस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत जडान गरिएका सिसिटिभी क्यामरा बिग्रिएर बन्द भएका छन् ।
राजमार्गमा हुने अपराधिक गतिविधि तथा दुर्घटनाको निगरानी गर्न प्रहरीलाई मद्दत पुगोस भनेर निजगढ क्षेत्रमा जडान गरिएका १६ वटा क्यामराले तीन सातादेखि काम गर्न छोडेका हुन ।
ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख एवंम् प्रहरी निरीक्षक सञ्जीव ओलीले वर्षा लागेसंगै राजमार्गका अधिकांश सिसीटिभी क्यामराहरू बन्द भएपछि मर्मत कार्य सुरु गरिएको जानकारी दिनुभयो । प्रहरीले सिसिटिभी क्यामराको मद्दतबाट राजमार्गमा हुने गतिविधि कार्यालयको कन्ट्रोल रूममा राखिएको मोनिटरबाट निगरानी गर्ने गरेको छ । क्यामरा बिग्रँदा अहिले राजमार्ग र आसपासका क्षेत्रमा सुरक्षा चुनौंति बढेको र अपराध नियन्त्रण गर्न पनि समस्या भएको प्रहरी निरीक्षक ओलीले बताउनुभयो ।
क्यामराहरूको मर्मत सम्भार गरी सञ्चालनमा ल्याउनको लागि कार्यालयले निजगढ नगरपालिकालाई एक साताअघि पत्राचार गरिसकेको पनि जानकारी दिनुभयो ।


















