मनोज शाह
जीतपुर,बाराको जीतपुरमा रहेको ट्राफिक प्रहरीप्रति स्थानीयवासी र सेवाग्राहीले असन्तुष्टि जनाएका छन् ।
विशेषगरी नियम विपरीत सवारी चलाएको आरोपमा चिट काट्ने प्रक्रिया र सोको जरिवान (राजस्व) बुझाउने क्रममा प्रहरीले अनावश्यक रूपमा दौडधुप गर्न बाध्य बनाएकोभन्दै सर्वसाधारण सेवाग्राहीहरुले गुनासो गरेका हुन ।
एकजना सेवाग्राहीका अनुसार ट्राफिक प्रहरीले सडकमै चिट काट्ने गरे पनि राजस्व बुझाउन कार्यालय पुग्दा प्रहरीलाई फेला पार्न मुस्किल पर्ने गरेको छ । “कामको हतार हुँदा चिट काटिदिन्छन्, तुरुन्तै आफ्नो काम कार्यालयमा पुग्नुपर्ने हुन्छ । तर पछि कार्यालयमा जाँदा ट्राफिक प्रहरीले नै भेटिदैनन्,” एकजना सेवाग्राहीले बताए ।
जरिवाना बापत चिट काटिएपछि राजस्व बुझाउन कार्यालयमा पुगेका पुगेका सर्वसाधारणले प्रहरीलाई फेला पार्न नसकेपछि घण्टौँ पर्खिनुपर्ने अवस्था आएको हो । सेवाग्राहीहरू भन्छन्, “सडकमा चिट काट्ने बेलामा ट्राफिक प्रहरी सजिलै भेटिन्छन, तर कार्यालयमा राजस्व बुझाउन जाँदा कोही हुँदैन ।’ उनले राजश्व बुझाउने कामको लागि पनि समय खर्चिएर दिनभरि कार्यलयमै अल्झिएर बस्नु परेको बताए ।स्थानीयहरूले कार्यालयमा प्रहरीको नियमित उपस्थिति सुनिश्चित गरेर ट्राफिक कार्यालयले सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने बताएका छन । साथै उनीहरुले राजस्व बुझाउने प्रक्रियामा सहजता ल्याउन पनि माग गरेका छन् । सडकमा ट्राफिक व्यवस्थापन र अन्य सेवाप्रवाह दुवैमा सुधारको आवश्यकता रहेको स्थानीयहरूको भनाई छ ।


















