सिमरा,प्रगतिशील सामुदायिक वन उपभोक्ता समूह औराहको २७औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित संस्थाको कार्यालय परिसरमा सम्पन्न साधारणसभाको उद्घाटन बारा क्षेत्र नम्बर ४ का प्रतिनिघि सभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले गर्नुभएको थियो ।साधारणसभाको उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूले पहल गर्ने बताउनुभयो ।
जीतपुरसिमरामा आउने आन्तरिक पर्यटकको रोजाईमा रहेको औराहको देवाश्रम पार्क निर्माणका लागि सहयोग गर्न आफू प्रतिवद्ध रहेको सांसद श्रेष्ठको भनाई थियो । सांसद श्रेष्ठले प्रगतीशिल सामुदायिक वन उपभोक्ता समूहको सदस्यता पाउन आवश्यक प्रक्रिया पूरा गरेर आफू पनि सदस्य बन्ने बताउनुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सभाका पूर्वसांसद सुन्दर विकले प्रतिनिधिमुलक सदस्यता चयनमा ध्यान दिन समितिलाई सुझाव दिनुभयो । कार्यक्रममा जीतपुरसिमरा वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्री, नेपाली कांग्रेसका रमेश पण्डित, समितिका पूर्वअध्यक्ष रमेश खरेल, घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाका सचिव त्रिलोक बिक्रम शाहलगायतले सम्बोधन गरेका थिए ।संस्थाका अध्यक्ष कुमार त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका सचिव डम्बर खड्काले गर्नुभएको थियो । अधिवेशन सहितको साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।