दुष्यन्त चौधरी
कलैया – टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै बाराको सदरमुकाम कलैयामा दबाबमूलक कार्यक्रम गरेको छ ।


सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनशायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएको थियो। सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै सोमबार देशभरिका थारु समुदायले दबाबमूलक कार्यक्रम गरेको हो ।
नागरिक उनमुक्ती पार्टी , थारु कल्याणकारिणी सभा र थारुहट/थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको दबाबमूलक कार्यक्रममा थारु समुदायसँग सम्बन्धित संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो। उनीहरुले अध्यादेश अविलम्व प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरीलगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन्।

अध्यादेश संवैधानिक रुपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिएका छन्। उपस्थितहरुले ‘न्याय देऊ, न्याय देऊ, रेशम चौधरीलाई बाहिर लेऊ’, ‘मानवताको अधिकार, हाम्रो पनि बराबर’, ‘रेशमवाद जिन्दवाद’, ‘हाम्रो देश, हाम्रो अध्यादेश’, लाल आयोग सार्वजनिक गर लगायतका प्लेकार्ड बोकेका थिए।

दबाबमूलक कार्यक्रममा नागरिक उनमुक्ती पार्टी बाराका अध्यक्ष रामचन्द्र प्रसाद चौधरी , थारू कल्याणकारीणी सभा बाराका सभापति रामप्रसाद चौधरी , थारू अगुवा यादव कृष्ण चौधरी , थारू अभियानता महिला नेतृ राधा कुमारी चौधरी , उर्मिला महतो लगायतकोले मन्तव्य राख्नुभएको थियोे ।














