सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सरूवा गरेपछि एक महिनादेखि अलपत्र परेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका शिक्षक ब्रम्हदेव पासवानको सरुवा फिर्ता भएको छ ।पीडित शिक्षकलाई न्याय दिन आग्रह गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले दबाबमुलुक अभियान चलाएपछि बुधवार उपमहानगरपालिकाले पासवानको सरुवा फिर्ता गरेर उहाँलाई पहिले कार्यरत नेरामावि सिमरामा नै हाजिर गराउने निर्णय गरेको हो ।सिमरामा झण्डै तीन दशकदेखि कार्यरत शिक्षक पासवानलाई उपमहानगरपालिकाले वडा नम्बर २४ को हरपुरस्थित नेपाल राष्ट्रिय माविमा सरुवा गरेको थियो । विद्यालयबाट रमानापत्र लिएर नगरपालिकाले सरुवा गरेको विद्यालयमा पुग्दा पासवानलाई त्यहाँका प्रधानाध्यापकले हाजिरी गर्न रोकेपछि पासवान एक महिनादेखि अलपत्र पर्नुभएको थियो ।उपमहानगरपालिकाले बुधवार पासवानको दरबन्दी नेरामावि सिमरामा नै कायम गरी कामकाजमा खटाउने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ले बुधवार जारी गरेको सूचनामा उल्लेख छ ।२०३९ सालदेखि शिक्षण पेशामा आवद्ध पासवान एक महिनादेखि अलपत्र परेको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो । अवकाशका लागि दुई मात्र वर्ष बाँकी रहेका पासवानलाई चाडपर्वको समयमा हाजिरविहिन अवस्थामा राखिनु दुःखद् भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उपमहानगरपालिका कार्यालयमा दबाव सृजना गरेका थिए । केही समयदेखि पासवान सामाजिक सञ्जाल (फेसबुक) मा भाइरल हुदैआउनुभएको छ ।सरुवा गरेको विद्यालयले हाजिर गराउन इन्कार गरेपछि मेयर राजन पौडेलले उपमहानगरपालिकाको कार्यालयमै बसेर हाजिर गर्न निर्देशन दिदाँ पनि पासवानले काम नगरी कार्यालयमा बसेर तलब नखाने बरु राजीनामा दिने बताउदै आउनुभएको थियो ।


















