निजगढ,निजगढ नगरपालिका वडा नम्बर ८ नम्बर वडा कार्यालयले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा राखेर खसी, बोका र बाख्राको खरिद बिक्रीमा रोक लगाएको छ । गत शुक्रवार निजगढ हाटबजारको क्रममा निजगढ ८ स्थित राजमार्ग किनारामा हुदै आएको खसी, बोका र बाख्राको खरिद बिक्रीमा रोक लगाइने सूचना सार्वजनिक गरेको वडा कार्यालयले आइतवारदेखि राजमार्ग क्षेत्रमा चौपाय खरिद बिक्रीमा रोक लगाएको हो ।राजमार्ग क्षेत्रमा हुदैआएको खरिद बिक्री रोक्न वडा अध्यक्ष स्वर्ण लामासहित वडा सदस्यहरु आफै हाट बजार पुगेका थिए । निजगढमा प्रतेक हप्ताको आइतवार र बुधवार लाग्ने हाटबजारको दिन पारेर व्यवसायीहरुले राजमार्ग क्षेत्रमा राखेर खसी, बोका र बाख्राको कारोबार गर्दै आएका थिए । वडा अध्यक्ष स्वर्ण लामाले राजमार्ग छेउमा राखेर खरिद बिक्री गर्दा हुने भिडभाडले सडक दुर्घटनाको उच्च जोखिम बढाएको र बजार क्षेत्रको सौन्दर्यीकरणमा पनि असर पुगेकोले अव्यवस्थित खरिद बिक्रीमा रोक लगाइएको बताउनुभयो । आइतवारको बिहान पनि व्यवसायीहरुले राजमार्ग क्षेत्रमै राखेर बिक्री गर्न सुरु गरेको र आफूहरुले सम्झाइबुझाइ गरेर हाट बजारभित्रको बगैचामा पठाएको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । वडा कार्यालयले हाटबजार क्षेत्रमा रहेको आँपको बगैचामा राखेर खसीबोकाको खरिद बिक्री गर्न व्यवसायी र ग्रहकहरुसंग आग्रह गरेको छ ।त्यसैगरी वडा नम्बर ८ कार्यालयले अतिरिक्त समयमा सेवा प्रवाह शुरु गरेको छ । विजयी दशमी तथा शुभ दिपावलीमा सेवाग्राहीहरुको चाप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर वडा कार्यालयले १०÷५ बजे बाहेकको समयमा पनि सेवा प्रवाह शुरु गरेको हो ।कार्यालय यही असोज १० गतेदेखि विहान ७ बजेदेखि ९ः३० बजेसम्म सेवा सुचारु गर्दै आएको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँले चाडबाड र सेवाग्रहीको चापलाई मध्यनजर गर्दै आगामी कार्तिक २४ गतेसम्म अतिरिक्त समयको सेवा जारी राखिने बताउनुभयो ।

Leave a Reply