सिमरा,सूर्य नेपाल प्रालिले सिमरास्थित ईलाका प्रशासन कार्यालयलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर र स्क्यानरसहितका सामग्री सहयोग गरेको छ । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गतेको भएको तोडफोड, लुटपाट र आगजनीमा भौतिक संरचना र उपकरणहरू नष्ट भएपछि कार्यालयको सेवा प्रभावित बन्दैआएको छ ।कार्यालयको सेवा पुनः सुचारु गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई थान डेस्कटप कम्प्युटर, दुई थान ल्यापटप, दुई थान प्रिन्टर र एक थान स्क्यानर सहयोग स्वरूप हस्तान्तरण गरेको हो ।

सूर्य नेपालको टोली पुगेर कार्यालयका प्रमुख राजेन्द्रप्रसाद कडेललाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख कडेलले प्रदर्शनकारीहरूको आक्रमणबाट कार्यालयका सूचना प्रविधिसम्बन्धी उपकरण नष्ट हुँदा नागरिकता लगायतका सेवा अवरुद्ध बनेको अवस्थामा सूर्य नेपालबाट प्राप्त सहयोगले सेवा पुनः सुचारु गर्न ठूलो सहयोग पुगेको बताउनुभयो । उहाँले सूर्य नेपालप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

सूर्य नेपालका उद्योग प्रमुख सुरेशकाजी श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत कठिन परिस्थितिमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले सहयोगका सामग्रीको उचित प्रयोगबाट कार्यालयको सेवा प्रवाह अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।सामग्री हस्तान्तरण कार्यक्रममा सूर्य नेपाल प्रालिका आशिष अधिकारी, यज्ञबहादुर आले, शेषराज अधिकारी, इलाका प्रशासन कार्यालयका साविर अंसारीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply