निजगढ,मनसुनी प्रणाली झनै सक्रिय हुने भएकाले आउँदो बिहीवारसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले बारा जिल्लाको उत्तरी भेगका बासिन्दाहरुसंग अनुरोध गरेको छ ।महाशाखाले सोमवार बिहान पौने २ बजे मोबाइलमा एसएमएस पठाएर राति १ बजेदेखि पछिल्लो ३ घण्टामा जिल्लाको सिमरा, रतनपुरी, निजगढ, कोल्हबी, कलैया र आसपासको क्षेत्रमा ठूलो पानी परिरहेकाले दुधौरा, पसाह, लाल बकैया लगायत क्षेत्र भएर बग्ने खोलाको बहाव बढ्ने भएकाले नदीतटीय क्षेत्रमा बस्नेहरुले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । सोमवार साँझ पनि सो क्षेत्रमा ठूलो वर्ष भएको छ ।
उता, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो । मनसुन थप सक्रिय भई आउँदो बिहीवारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने पनि महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।बिहीवारसम्म देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको आंकलन गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा मेघ गर्जन, चट्याङसहित मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण बर्दिया, कास्की, उदयपुर लगायतका ठाउँका खोला र नदीमा अहिले बाढी आएको महाशाखाले जनाएको छ । ठूलो पानी पर्न सक्ने र यसअघिबाट पनि पानी परिरहेका ३४ जिल्लालाई महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।
बाढीले बगाएर महिलाको मृत्यु
निजगढ,निजगढमा गोठालो गएकी एक महिलाको बाढीले बगाएर मृत्यु भएको छ ।गाईभैसी चलाउन जंगल गएकी निजगढ नगरपालिका वडा नम्बर १३ बेसीगाउँकी वर्ष ४० कि माईलीमाया वाईवाको शव आइतवार गाउँकै भक्तलाल खोलाको बगरमा फेला परेको थियो । उनको शनिवार आएको बाढीले बगाएर मृत्यु भएको बताइएको छ ।गोठालोबाट घर फर्किने क्रममा वाईवालाई खोलाको बाढीले बगाएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।वाईवाको शव आइतवार निजगढ– १२ स्थित बुङ्ग्जोर नजिकै खोला बगरमा फेला परेको थियो । शनिवारदेखि सम्पर्कविहिन बनेकी वाईवाको शव स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।



















