वीरगंज, ६असोज । करिब एक दशकदेखि अलपत्र रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगञ्ज शाखा परिसरको अधुरो गोदाम भवन पुनर्निर्माण कार्य सुरु भएको छ। कम्पनीको केन्द्रीय कार्यालयले यस वर्ष पुनः ठेक्का प्रक्रिया अघि बढाएपछि भवन निर्माणले गति लिएको हो।

शाखा प्रमुख पंकजकुमार झाका अनुसार ४८८।१२५ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन गोदामको बाँकी काम पूरा गर्न भगवती श्री राधेमाई निर्माण सेवा, वीरगञ्ज–१३ ले ८१ लाख ७२ हजार ७ सय ४५ रुपैयाँ ५३ पैसामा (भ्याटसहित) ठेक्का लिएको छ।

१ हजार मेट्रिक टन क्षमताको उक्त गोदाम भवनको निर्माण कार्य साबिकको ठेकेदारले बीचमै छोडेपछि अलपत्र परेको थियो। यस अवधिमा भवनमा भुईंदेखि छानोसम्मको पर्खाल भने बनिसकेको थियो तर प्लास्टर, छाना हाल्ने, रंगरोगन र अन्तिम फिनिशिङ्ग कार्य पूरा नभएकाले उपयोगमा ल्याउन सकिएको थिएन।

कम्पनीले गत असार ३२ गते नयाँ ठेकेदारसँग सम्झौता गरेको हो। सम्झौता अनुसार ठेकेदार कम्पनीले सम्झौता मितिले एक वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने छ।

ठेकेदार कम्पनीले आवश्यक निर्माण सामग्री झारेर काम सुरु गरिसकेको शाखा प्रमुख झाले बताए। उनका अनुसार अहिले काम तीव्रगतिमा अघि बढाइएको छ र निर्धारित समयसीमाभित्र भवन तयार हुने विश्वास लिइएको छ।

वीरगञ्ज शाखा परिसरमा रहेका पुराना गोदामहरू जीर्ण र प्रयोगयोग्य नभइसकेका छन्। करिब पाँच वर्षअघि अमेरिकन सहयोग परियोजनाअन्तर्गत परिसरमा एउटा आधुनिक गोदाम बनेको थियो। तर अन्न भण्डारण क्षमतामा अझै अभाव देखिँदै आएको छ।

शाखा प्रमुख झाका अनुसार, यो गोदाम निर्माण सम्पन्न भएपछि शाखाको अन्न भण्डारण क्षमतामा उल्लेख्य वृद्धि हुनेछ। उनका शब्दमा, “शाखामा अन्न भण्डारणका लागि थप स्थानको आवश्यकता थियो। यो भवन बनेपछि त्यसमा सहजता हुनेछ।”

Leave a Reply