निजगढ,जेनजी आन्दोलनको क्रममा नगरपालिका क्षेत्रभित्र भएका आगजनी र तोडफोडका घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले माग गर्नुभएको छ ।नगरप्रुमख पुरीले आइतवार विज्ञप्ति निकालेर मिति २०८२।०५।२४ गते आन्दोलनकारीको नाममा घुसपैठिया तत्वहरुले निजगढ नगरपालिका कार्यालयलगायत विभिन्न वडा कार्यालयमा आगजनी र तोडफोड गरेको भन्दै घटनामा संलग्नहरुलाई पत्ता लगाएर कारबाही गर्न माग गर्नुभएको हो ।

‘सार्वजनिक सम्पतिमा हमला गरी कार्यालयको अभिलेख, उपकरण र संरचना नागरिकहरुको जन्मदेखि मृत्यु सम्मका विभिन्न दस्तावेजहरु नष्ट गर्ने कार्य एउटा जिम्मेवार नागरिकहरुबाट हुनैसक्दैन, उहाँले विज्ञप्तिमा भन्नुभएको छ, कार्यालयका महत्वपूर्ण कागजपत्र नष्ट गरि स्वंम नागरिकहरुको सम्पति नष्ट गर्ने र सर्वसाधारणलाई सास्ति दिने गरी भएका यस्ता घटनाहरुको निष्पक्ष र सुक्ष्म रुपमा छानविन गरी दोषीहरुलाई कानुनी दायरामा ल्याउन सम्बद्ध निकायहरुसँग अपिल गर्दछौं ।’

कार्यालयले बिदा दिएको अवस्थामा घटना भएको जति निन्दा गरेपनि कम हुनेभन्दै विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गरिएको छ ।काठमाण्डौंमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर जेनजी प्रदर्शनकारीहरुको मृत्यु भएपछि नगरपालिकाले वडा कार्यालयसहित माताहातका कार्यालयहरुमा भाद्र २४ र २५ गते शोक बिदा दिएको थियो ।
आन्दोलनकारीहरुले गरेको आगजनी र तोडफोडबाट नगरपालिका कार्यालयको मुख्य भवनसहित सबै कागजपत्र, उपकरण र फर्निचर नष्ट भएका थिए भने वडा नम्बर १०, ११ र १३ बाहेकका अन्य वडा कार्यालयका सबै कागजपत्र, उपकरण र फर्निचर पनि बाहिर निकालेर आगो लगाइएको थियो ।

आगजनीका कारण नगरपालिका कार्यालयको भवन क्षतविक्षत अवस्थामा पुगेको छ भने वडा कार्यालयहरुमा पनि आंशिक क्षति पुगेको छ । सोही क्रममा स्थानीय राजनीतिक दलका कार्यालयहरुमा पनि आगजनी र तोडफोड गरिएको थियो ।विज्ञप्तिमा अगाडि भनिएको छ– ‘नगरपालिकामा भएको भौतिक क्षतिको एकिन विवरण तयार गरि मुचुल्का लगायतको कानुनी प्रक्रिया पुरा भए पश्चात कार्यालयको वैकल्पिक उपायको खोजी गरि नागरिकहरुलाई सार्वजनिक सेवा उपलब्ध गराउने व्यहोरा समेतको जानकारी गराइन्छ ।’

त्यसैगरी विज्ञप्तिमा यस्तो अत्यन्त असहज र विषम परिस्थितिमा पनि नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई सुम्पेको दायित्व निर्वाह गर्दै जनतामा निहित सार्वभौमसत्ता संविधानवाद विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा सेवा प्राप्त गर्ने नागरिकहरुको अक्षुण हकप्रति सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि सेवा प्रवाहको मागमा अविचलित र दृढ रहदै आम नागरिकहरुको सेवा प्राप्तिको अपेक्षालाई सम्बोधन गर्न यथासिघ्र कार्यालयहरु संचालनमा ल्याउने प्रतिवद्धता पनि जनाइएको छ ।

नगरप्रमुख पुरीले २०८२।०५।३० गतेदेखि क्षति नभएका १०, ११ र १३ नम्बर वडा कार्यालयबाट अति आवश्यक सेवाहरु सञ्चालनमा आउने बताउनुभएको छ । त्यसैगरी वडा नम्बर १२ को अति आवश्यक सेवाहरु समेत हाललाई वडा नम्बर १३ बाट नै सञ्चालन गरिने पनि जनाइएको छ ।नगरप्रमुख पुरीले जेन–जी पुस्ता लगायत नागरिकले गरेको प्रदर्शनका क्रममा भएको घटनाले अत्यन्त मर्माहित तुल्याएको उल्लेख गर्नुभएको छ । प्रदर्शनको क्रममा अमुल्य जीवन उत्सर्ग गर्नुहुने सबैप्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली एवम् आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना र स्वास्थ्य उपचारमा कुनै पनि किसिमको कमी नगर्न तथा निःशुल्क उपचारको लागि नेपाल सरकार समक्ष माग गर्नुभएको छ ।आगजनीका कारण कार्यालयको सभा हल र बैठक कक्ष क्षतिग्रस्त बनेपछि आइतवार कार्यपालिकाको अनैपचारिक बैठक कार्यालय परिसरमा रहेको ट्रसमुनि बसेको थियो ।

Leave a Reply