काठमाण्डौ – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनुभएको छ ।बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएका थापालाई मङ्गलवार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गर्नुभएको हो । थापाले आफूलाई कांग्रेसका २९ जना, माओवादी केन्द्रका १३ जना, एकीकृत समाजवादीका चार जना र जनता समाजवादी पार्टीका एक जना गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै दाबी पेस गर्नुभएको थियो ।थापाले प्रदेश प्रमुखको कार्यालयमा पेस गर्नुभएको दाबीमा उहाँसहित माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पाटी संसदीय दलका नेता निर्मला लिम्बुले हस्ताक्षर गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले आज बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक छ । गठबन्धन दलसँग सभामुखबाहेक ४६ जनामात्रै सांसद भएपछि मंगलवार नै सभामुख बाबुराम गौतमले राजीनामा दिनुभएको छ ।मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो ।

















