कलैया,बाराकी एक युवतीलाई भारतको नयादिल्लीस्थित वेश्यालयमा लैजाँदै गरेका एक व्यक्तिलाई भारतीय प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका– १०, देवापुर टेटाका २४ वर्षीय सुरज गुप्ता रहेको प्रहरीले जनाएको छ । उनलाई भारतको बिहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको जमुनिया ईलाकाबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएको हो ।

रौतहटसँग जोडिएको सिमाना हुँदै भारततर्फ लैजाँदै गर्दा शंका लागेपछि एसएसबीले उनीहरूलाई रोकेर सोधपुछ गरेको थियो । सोधपुछको क्रममा गुप्ताले फरक–फरक बयान दिएका थिए ।प्रारम्भिक अनुसन्धान अनुसार, गुप्ताले ती युवतीलाई आफ्नी सानी आमाले सञ्चालन गर्दै आएको दिल्लीस्थित यौन व्यवसायमा लगेर संलग्न गराउने उद्देश्यले भारत लैजाँदै गरेको खुल्न आएको छ । एसएसबीले पक्राउ परेका गुप्ता र पीडित युवतीलाई रौतहट प्रहरीमार्फत जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार, अभियुक्त गुप्ताको स्थायी ठेगाना बारा जिल्लामा पर्ने भएकाले उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढको जिम्मा लगाएको छ ।प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Leave a Reply