वीरगञ्ज,पर्साको जगरनाथपुर गाउँपालिकामा २३ दिन अगाडि भएको २ जनाको हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।पर्सा प्रहरीले बुधवार एक पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य योजनाकारसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ निवासी सन्तोषप्रसाद कुम्हार र महादेव महतो नुनिया तथा बारा कलैया ५ बस्ने लक्ष्मणकुमार प्रजापतिलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।पक्राउ परेका तीन जनासहितको टोलीले यही २९ जेठमा बारा कलैयाका रामएकबाल पण्डित कुम्हाल र उनको साथी आदर्शकोतवाल घर भइ कलैयाँ बस्दै आएका सुरेश ठाकुरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताउनुभयो ।

घरमा पुजा गराउने बहानामा बोलाएर दुबै जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक रामएकबालको नातामा भतिजो पर्ने लक्ष्मण प्रजापति र ज्वाइ पर्ने संतोष कुमारको योजनामा दुबै जनाको हत्या भएको हो ।
प्रहरीमा लक्ष्मणले दिएको बयानमा भनिएको छ, ‘सुरुमा बुवाको मृत्यु, त्यसपछि दाइको अढाइ वर्षको छोराको पनि मृत्यु भयो । योसंगै घरमा रहेका गाइवस्तु पनि पर्न थाले, यी सबै घटना हुन थालेपछि मलाई काकाले जादु टुना गरी मारेको लाग्यो । अनि यही रिसइबीमा मैले पनि काकालाई मार्ने योजना बनाए, त्यसै अनुसार भिनाजुसंग मिलेर हत्या गरेँ ।’
यी दुबै जनाले केही व्यक्तिलाई सुपाडी दिएर मार्न लगाएको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरी प्रमुख ढुंगेल बताउँछन् ।
प्रहरीका अनुसार ८ लाखको सुपाडीमा दुबै जनाको हत्या भएको छ । त्यसमध्ये ४ लाख लक्ष्मणले र ४ लाख संतोषले पैसा दिएको प्रहरीले बतायो ।जगरनाथपुर गाउँपालिकाको ओरिया खोला नजिकैबाट दुबै जनाको शव गाडेको अवस्थामा फेला परेको थियो । घटनास्थलमा बरामद कागजात र अन्य प्राविधिक विश्लेषण अनुसार प्रहरीले मुख्य योजनाकारसहित तीनै जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ ।

Leave a Reply