मंसिर ७ गते काठमाडौंमा के के न हुन्छ जसरी प्रचार गरियो, भयो चैं दुई स्थानमा दुई समूहको प्रदर्शन । एक दुर्गा प्रसाई अनि अर्को महेश बस्नेत समूहको प्रदर्शन भयो । प्रदर्शनको उद्देश्य फरक थियो । एमालेको भातृ संगठनको प्रर्दशनले धेरै बहस गर्नुपर्ने अवस्था सृजना गरेन भने दुर्गा प्रसाईंको नाममा भएको प्रर्दशनका विषयमा भने बहस भयो र त्यो बहसको खासै अर्थ देखिदैन । बैंकको ऋण तिर्न नसकेपछि वर्तमान व्यवस्था विरुद्ध लागेका भनिएका दुर्गा प्रसाईंले भनेको जस्तो अहिले नै नेपालमा राजतन्त्रको उदय हुने संभावना स्वयम् आन्दोलनमा सहभागी भएकाहरुले पनि विश्वास गरेका छैनन् ।
नेपालमा वीरेन्द्रको बंशनाश भएपछि राजतन्त्रको अन्त्य भएको धेरैको विश्लेषण छ । त्यसो त वीरेन्द्रपछि ज्ञानेन्द्रले केही वर्ष राजकाज गरेको इतिहास छ तर त्यो कस्तो थियो भन्ने कुरा २० वर्ष अगाडि कम्तीमा दश वर्ष उमेर पुगेका नेपालीहरुले अनुभूति गरेकै छन् । विश्वका कयौं देशमा राजतन्त्र आज पनि होला तर नेपालको जस्तो मोडेलमा छैन । नेपालमा एउटाको बंशनाश हुन्छ अनि अर्को राजा भएर आफ्नो दाजुको हत्यारा खोज्दैन अनि फेरि उसैलाई राजा देख्नु भनेको थप देशलाई अन्धकारमा धकेल्नु मात्र हो । त्यसो त उमेरले आठ दशक काट्न लागेको मानिस अनि मानसिक रुपमा विक्षिप्त छोरा अनि भर्खर जवानी टेक्दै गरेको केटोबाट शासन संचालन हुने कुरै भएन । त्यसैले यस्ता मुर्खको पछि लागेर समय खर्च गर्नु बेकार नै छ । यी सबै कुराको विश्लेषण गर्ने हो भने के नेपालमा अब व्यवस्था फेरिएला र ?















