वीरगञ्ज,मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरद्वारा आयोजित कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र मधेश प्रदेशमै सर्वोत्कृष्ट हुन सफल हुनुभएको छ ।कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय पर्सा सर्वोत्कृष्ट घोषित भएको हो। यो सफलताको श्रेय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रको नेतृत्वदायी भूमिकालाई दिइएको छ, जसले आफू हाजिर भएदेखि नै विभिन्न अभियान चलाएर पर्सामा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो ।

मधेश प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्वेदीले पर्सा जिल्ला कार्यसम्पदान मूल्याङ्कनमा उत्कृष्ट भएको जानकारी गराउनुभएको हो ।प्रहरी उपरीक्षक गौतम मिश्रको कमान्डमा पर्सा प्रहरीले ४० वटा बुँदामा केन्द्रित रहेर गरिएको कार्यसम्पादन मूल्यांकनमा ९०.१९ प्रतिशत अंकका साथ प्रथम स्थान हासिल गरेको छ। यो अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी, तस्करी र भन्सार छलीका सामान नियन्त्रण गरी कारबाहीका लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाइएको छ।

फरार प्रतिवादी पक्राउमा पनि पर्सा प्रहरीले उल्लेख्य सफलता पाएको छ। विभिन्न अदालतबाट फैसला भई फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादीलाई पक्राउ गरिएको छ। यसबाट ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९ सय ५६ रुपैयाँ जरिवाना असुल उपर भएको छ।लागुऔषध नियन्त्रणमा पनि पर्सा प्रहरीले कीर्तिमानी काम गरेको छ। ठूलो परिमाणमा ३१९ केजी चरेससहित ट्रक र अभियुक्त पक्राउ परेका छन् भने कुल ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिम लगायतका विभिन्न लागुऔषधसहित १५३ जना कारोबारी पक्राउ परेका छन्।
मानव बेचबिखन विरुद्ध पनि जिल्ला प्रहरी कार्यालयले कडा रूपमा प्रस्तुत भई १२ वटा मुद्दा दर्ता गरी १३ जना अभियुक्तलाई कारबाही गरेको छ। कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका मुद्दामा संलग्न प्रतिवादी पक्राउ तथा सफल अनुसन्धानमा पनि पर्सा प्रहरी अब्बल देखिएको छ।

प्रहरी उपरीक्षक मिश्रले कार्यालयको भौतिक संरचनालाई व्यवस्थित र सौन्दर्यीकरण गरी प्रहरीको मनोबल उच्च राख्न विभिन्न गतिविधि सञ्चालन गर्नुभएको छ । धार्मिक सद्भाव कायम राख्न पनि उहाँको भूमिका प्रशंसनीय छ।हनुमान जयन्ती, गहवामाई रथ यात्रा तथा मुस्लिम समुदायका मोहरम जस्ता पर्वहरूमा योजनाबद्ध प्रहरी परिचालन गरी शान्ति सुरक्षामा कुनै खलबल आउन नदिई उहाँले सक्षम कमान्डरको उदाहरण प्रस्तुत गर्नुभएको थियो ।७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन सम्झौता र मूल्यांकनमा पर्सा जिल्ला पहिलो पटक विजेता बन्न सफल भएको हो।

Leave a Reply