काठमाडौं,अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बचतकर्ताको पाँच करोड बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका कार्यालय प्रमुख बलीराम प्रसाद कुर्मीलगायत ६ जना विरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दिएको जानकारी अनुसार कार्यालयका नासु एंव कार्यालय प्रमुख समेत रहेका कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएको र बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखु्सी अपचलन गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उनले तत्कालीन कार्यालय प्रमुखहरूसँगको मिलेमतोमा बचतकर्ताको बचत गर्नुपर्ने रकम आपसमा बाँडफाँट गरी अपचलन गरेको पाइएको अख्तियारले जनाएको छ ।
प्रवक्ता पौडेलका अनुसार कुर्मीलगायत जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू,अदालतप्रसाद कुर्मी,बुन्नीप्रसाद यादव,सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ।बचतकर्ताबाट उठेको बचत रकम साँवा ब्याज गरी ५ करोड ३५ लाख ६४ हजार रुपैयाँ बढी रकम हिनामिना गरेको खुलेको अख्तियारको दावी छ।उनीहरूविरुद्ध ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना माग गरिएको छ।