निजगढ –  रसुवाको भोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्ने भन्दै सामाजिक सञ्जाल फेसबुकमा व्यक्तिगत क्यूआर राखेर रकम संकलन गरेको आरोप लागेका निजगढको एक निजी विद्यालयका शिक्षकलाई विद्यालयले निष्कासन गरेको छ ।
झापा घर भइ हाल बाराको निजगढ नगरपालिका– ७ स्थित विद्यासागर ईङ्लिस बोर्डिङ स्कुलमा अध्यापन गर्दैआएका शिक्षक स्वतन्त्र कोइरालालाई विद्यालयले मंगलबार निष्कासन गरेको प्रिन्सिपल अभिषेक मिश्रले जानकारी दिनुभयो ।

भोटेकोशी नदीमा आएको बाढीपीडितका नाममा रकम संकलन गर्न फेसबुकमा ‘साथी हो एकले थुकी पो सुकी त, हजारौँले थुकी त नदी’ भन्ने भावसहित व्यक्तिगत खाताको क्युआर कोड शेयर गरी रकम उठाएको पाइएपछि गत हप्ता मकवानपुर प्रहरीले उनलाई हेटौडाबाट नियन्त्रणमा लिएको थियो । व्यक्तिगत क्युआर कोड प्रयोग गरी राहत संकलन गर्न खोजेको भन्दै उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीपछि छोडिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी माधवराज काफ्लेले जानकारी दिनुभयो ।

तलबी खाता प्रयोग गरेर रकम संकलन गरेकोभन्दै विद्यालयका अभिभावक र विद्यार्थीले कोइरालाको विरोध जनाएपछि उनलाई सेवाबाट बर्खास्त गरिएको प्रिन्सिपल मिश्रको भनाइ छ । कोइरालाले बाढी पीडितको सहयोगको लागि राष्ट्रिय वाणिज्य बैंकको व्यक्तिगत खाता (१३००१०००००१७३२०३) को क्युआर कोड राखेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । कोइराला रास्वपाका झापाको कार्यकर्ता भएको पनि बताइएको छ ।

Leave a Reply