वीरगञ्ज,मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व मोहरम (दाहा) मनाउने स्थानको विषयलाई लिएर वीरगञ्जका स्थानीयमा अन्यौल र चासो बढेको छ ।जिल्ला प्रशासन कार्यालयले मोहरमा गर्ने स्थान पटक पटक परिवर्तन गरेपछि स्थानीयबीच अन्यौल बढेको सरोकारवालाहरूको भनाई छ ।
असार १९ गते वीरगञ्ज महानगरपालिकामा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी लगायतको उपस्थितमा बसेको बैठकले मोहरमको कार्यक्रम विगतका वर्षझैँ यस पटक पनि पुरानो बसपार्कमै आयोजना गर्ने निर्णय गरेको थियो । यद्यपि शनीवार जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षाको कारण देखाउँदै उक्त निर्णय विपरीत आदर्शनगर रङ्गशालामा कार्यक्रम गर्न निर्देशन दिएपछि विवाद र अन्यौलता चुलिएको हो ।
यसैबीच सोही विषयमा छलफल गर्न शनीवार राजनीतिक दलका प्रतिनिधि, स्थानीय निकाय प्रतिनिधिहरू तथा सरोकारवालाहरूको बैठकले पुरानो बसपार्कमै मोहरम कार्यक्रम यथावत् राख्न स्थानीय प्रशासनसँग आग्रह गर्ने निर्णय गरेको छ । बैठकले मोहरम पर्व ऐतिहासिक रूपमा सोही स्थानमा शान्तिपूर्ण र सभ्य तरिकाले हुँदै आएको स्मरण गराउँदै कार्यक्रम गर्न कुनै अवरोध नभएको स्पष्ट पारेको छ ।
बैठकका सहभागीहरूले रङ्गशाला खेलकुद प्रयोजनको लागि तोकिएको स्थान भएकोले धार्मिक कार्यक्रम गर्न नहुनेमा जोड दिएका थिए । उनीहरूले धार्मिक परम्परा, सामाजिक सहिष्णुता र समुदायबिचको समझदारी कायम राख्न पुरानो बसपार्कमै कार्यक्रम हुनु आवश्यक रहेको बताएका छन् ।
वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सम्पन्न सर्वदलीय बैठकमा नेताहरूमा नेपाली काँग्रेसका जिल्ला सचिव एवं महानगर उपप्रमुख इम्तियाज आलम, काँग्रेस महानगर सभापति मणिन्द्रलाल नेपाली, नेकपा (एमाले) का जिल्ला सचिव महेश दास, महानगर उपाध्यक्ष राम किशोर सिंह (पराग), नेकपा (माओवादी केन्द्र) का अध्यक्ष विजय महतो, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ईश्वरचन्द्र यादव, जनमत पार्टीका नगर अध्यक्ष महादेव शर्मा, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल, नेकपा (एस) का बालगोपाल थापा, मनोज चौधरी, वृजलाल पासवानलगायतको उपस्थिति रहेको थियो ।प्रशासनको पछिल्लो पत्रले कार्यक्रम स्थलको विषयमा मुस्लिम र अन्य समुदाय चासो र चिन्ता उत्पन्न भएको छ ।

















