काठमाण्डौ – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको खेलमा नेपाल यमनसँग पराजित भएको छ ।मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–० गोलको अन्तरले पराजित भयो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि यमनले दोस्रो हाफमा २ गोल गर्यो । यमनका लागि ओमर अब्दुल्लाहले ७२ र अब्दुल्लाह अल दाहीले अन्तिम मिनेटमा गोल गरे ।यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईसँग ४–० गोलको अन्तरले पराजित भएको थियो ।नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह ‘एच’ मा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्वकप छनोटको अर्को चरणमा पनि पुग्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नुपर्नेछ ।


















