मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– ३ स्थित नापी कार्यालयका एक कार्यालय सहयोगीले सेवाग्रहीसँग घुस असुलिएको आरोप लागेको छ । दलित समुदायका महिलाहरूले काम गरिदिने बहानामा आफूहरुसंग रकम लिइएको तर काम नगरेको भन्दै सार्वजनिक रुपमा विरोध जनाएका छन् ।
स्थानीय पवनया देवी पासवानका अनुसार उनीहरूबाट सुरुमा ४ हजार रुपैयाँ माग गरिएको थियोे। “हामी कमाएर खाने मान्छे हौँ, रसिदको पैसा दिन्छौँ भनेका थियौँ, तर पनि दबाब दिएर ऋण काढेर ६ हजार ५ सय रुपैयाँसम्म दियौँ ।” उहाँले रुँदै भन्नुभयो । पैसा बुझाएपछि पनि काम नभएपछि शुक्रवार उनीहरू रकम फिर्ता माग गर्दै नापी कार्यालय पुगेका थिए ।
महिलाहरूले कार्यालयका सहयोगी बिद्रोह यादवलाई रकम दिएको दाबी गरेका छन् । तर पैसा फिर्ता माग्दा “हाकिमसँग कुरा गर्नुस” भन्दै पन्छिन खोजेको उनीहरुको आरोप छ । घटनाको समाचार संकलन गर्न स्थानीय पत्रकार पुगेको सूचना पाएपछि उनी कार्यालयभित्र लुकेको पनि सेवाग्रहीले बताएका छन् ।घटनाबारे कार्यालय प्रमुख राधेश्याम साहसँग बुझ्दा उहाँले आफूलाई यसबारे केही जानकारी नभएको बताउनुभयो । तर कार्यालय प्रमुख साहकै अगाडि पीडित भनिएका महिलाहरूले रुदै रकम लिएको आरोप दोहो¥याए पनि उहाँले कुनै प्रतिक्रिया जनाउनुभएको थिएन ।
जयमाला देवी पासवानले भन्नुभयो, “हामीसँगै गएर पैसा दिएका हौँ, मैले पनि २ हजार रुपैयाँ दिएको छु ।” त्यस्तै ललिता देवी पासवानले पनि सामूहिक रूपमा रकम बुझाएको दाबी गर्नुभएको छ ।
यो घटनाले नापी कार्यालयभित्रै मिलेमतोमा घुस असुली भइरहेको आशंका थप गहिरो बनाएको छ । अझ गम्भीर कुरा, कार्यालय प्रमुख साह यसअघि पनि ५ हजार रुपैयाँ घुस प्रकरणमा मुछिएको र अख्तियारबाट मुद्दा जितेर उन्मुक्ति पाएपछि कार्यालय प्रमुख बन्नु भएको थियो ।सेवाग्रहीहरूले न्यायको माग गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । अहिले यो प्रकरणले जीतपुरसिमरा क्षेत्रका सरकारी कार्यालयभित्रको भ्रष्टाचारको जालो फेरि उजागर गरेको छ ।



















