काठमाडौँ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सका कमाण्डर होसेन सलामी इजरायली आक्रमणमा मारिएका छन् ।
कडा राष्ट्रवादी धारमा विश्वास राख्ने सलामीले हालै मात्र इरानमाथि आक्रमण भयो भने ‘नरकको ढोका खोलिने’ चेतावनी दिएका थिए ।
यस आक्रमणमा इरानका सशस्त्र फौजका प्रमुख मोहम्मद बाघेरी, उपकमाण्डर गोलामअली रासिद, र केही आणविक वैज्ञानिकहरू समेत मारिएका छन् ।
तेहरानले इजरायल र अमेरिका दुवैलाई ‘गम्भीर मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ। अमेरिका भने यस आक्रमणमा आफू संलग्न नरहेको बताउँदै आएको छ । तर यस घटनाले मध्यपूर्वमा पूर्ण युद्धको जोखिम बढाएको विश्लेषण गरिँदैछ ।
होसेन सलामीले सन् १९८० मा इरान–इराक युद्धका बेला रिभोल्युसनरी गार्डमा सामेल भएका थिए। सन् २००९ मा उपकमाण्डर बनेका उनी एक दशकपछि गार्डका प्रमुख कमाण्डर बनेका थिए।
उनलाई सन् २००० यता इरानको आणविक र सैन्य कार्यक्रमसँग संलग्नताका कारण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र अमेरिकाले प्रतिबन्ध लगाएका थिए ।एकपटक उनले इरान ‘विश्वशक्ति बन्ने नजिक’ रहेको दाबी समेत गरेका थिए । आक्रमणको ठीक अघिल्लो दिन उनले भनेका थिए, ‘हामी कुनै पनि परिस्थिति, अवस्था र रणनीतिको लागि पूर्ण तयार छौँ। शत्रुहरूले इरानलाई प्यालेस्टिनीहरू जस्तै कमजोर सम्झिएर युद्ध गर्न खोज्छन्। तर हामी युद्धमा तालीम प्राप्त, अनुभवी र सशक्त छौँ ।’



















