बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकाको वडा नम्बर १ को वडा कार्यालयले एक कार्यक्रमकाबीच महिला स्वास्थ्य स्वंमसेविकाहरुलाई साइकल वितरण गरेको छ ।वडा नम्बर १ महिला स्वास्थ्य स्वंमसेविकाहरुको सुविधाको लागि साइकल वितरण गर्ने निजगढको पहिलो वडा कार्यालय बनेको छ ।

निजगढ वडा नम्बर १ सिंगौलमा स्वास्थ्य क्षेत्रमा स्वमसेवा गर्दैआएका सकुन्तला कुमर, शान्ता थापा र शिकिल गुरोलाई वडा अध्यक्ष मंगले लोप्चनले आइतवार एक÷एक थान साइकल वितरण गर्नुभएको हो ।स्वंमसेवीहरुलाई कार्यस्थलमा पुग्न र सेवा प्रदान गर्न सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरिएको वडा अध्यक्ष लोप्चनले बताउनुभयो । उहाँले साइकल वितरणबाट स्वंमसेवी महिलाहरुको सेवा कार्यमा थप प्रभावकारिता आउने पनि बताउनुभयो ।

वडा नम्बर १ को कार्यालयले चालु आर्थिक वर्षमा बिनियोजन गरेको बजेटबाट साइकल वितरण गरिएको वडा अध्यक्ष लोप्चनले जानकारी दिनुभयो ।साइकल वितरण कार्यक्रममा कार्यपालिका सदस्य फूलमाया घलान, समाजसेवी संगम लोप्चन, वडा सदस्य कन्तलाल धामी, मंजुकुमार कछाडिया, वडा सचिव सोमसिं लामालगायतको उपस्थिति रहेको थियो ।
वडामा लामो समयदेखि स्वास्थ्य स्वयमसेविकाको काम गर्दैआउनुभएकी शान्ता थापाले वडा कार्यालयबाट साइकल पाएपछि आफूहरुलाई सुविधा मिलेको र काममासमेत प्रभावकारिता आउने बताउनुभयो । उहाँले आफूहरुलाई साइकल प्रदान गरेकोमा वडा कार्यालयलाई धन्यवादसमेत दिनुभएको छ ।

Leave a Reply