काठमाण्डौं,अमेरिकी पूर्वराष्ट्रपति तथा आउँदो चुनावका उम्मेदवार डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । आइतवार बिहान चुनावी अभियानका क्रममा कानमा गोली लागेका ट्रम्प चार घण्टाको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ अस्पतालबाट आफ्नो घर न्यु जर्सी जानुभएको बीबीसीले जनाएको छ ।पेन्सिलभेनिया राज्यको बटलरमा आइतवार बिहान चुनावी भाषण गर्दै गर्दा ट्रम्पलाई एक जनाले गोली प्रहार गरेका थिए । यो घटनामा सभामा रहेका एक जना र गोली प्रहार गर्ने व्यक्तिको ज्यान गएको छ । गोली हान्ने व्यक्ति २० वर्षका युवा रहेको खुलेको छ ।यसैबीच अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानलाई निरन्तरता दिने बताउनुभएको छ । आउँदो हप्ताका लागि तय भएका सबै ¥याली र सभामा आफू सहभागी हुने ट्रम्पले जनाउनुभएको छ ।
अमेरिकी गुप्तचर निकायले ट्रम्पको हत्या गर्ने नियतले नै गोली प्रहार भएको जनाएको छ । गोलीबारीको घटनालाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको पनि कानुन प्रवर्तन अधिकारीहरूले बताएका छन् ।


















