निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० मा राष्ट्रिय भूमि आयोगले शुक्रवारबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको काम शुरु गरेको छ ।राष्ट्रिय भूमि आयोग बाराका कर्मचारीहरुले वडा नम्बर १० को लाल गाउँमा जग्गा नापजाँचको काम शुरु गरेका हुन । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सर्भे मेसिन चलाएर उद्धाटन गरेपछि भूमि आयोगका प्राविधिकहरुले भूमिहिन दलित, सुकुम्बासी र अव्यस्थित बसोबासीले भोगचल गर्दैआएको जमिनको नापजाँच शुरु गरेका थिए ।

जग्गा नाप जाँच प्रारम्भ गर्दै निजगढ नगरपालिकाका प्रमुख पुरीले जग्गा नाप जाँच कार्यमा जग्गाधनी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले कर्मचारीहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सबै पक्षको समन्वयमा विवादरहित ढङ्गले काम गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिनुभएको थियो ।नगर प्रमुख पुरीले स्थानीयसंग आफूले भोग गरेको जमिनको मात्रै नापनक्सा गराउन र सडक, नाला, चौतारा, सन्धीसर्पण, विद्यालय, खेलमैदान जस्ता सार्वजनिक स्थानको लागि आवश्यक पर्ने पर्याप्त जमिन अहिले नै छुट्याएर राख्न पनि आग्रह गर्नुभयो । उहाँले वन, नदी उकासलगायत सार्वजनिक स्थलको जमिनमा कुनै किसिमको अतिक्रमण नहुने गरी काम गर्न पनि अनुरोध गर्नुभयो ।

आयोगबाट खटेका सर्वेक्षक र अमिनसहितको टोलीले जमिन नापीको काम शुरु गरेको हो । क्षेत्रमा पर्ने नम्बरी जमिन छुट्याएर स्थानीयले भोग गर्दैआएको ऐलानी जमिनको नक्सा बनाउने प्रयोजनको लागि जग्गा नापजाँच शुरु गरिएको निजगढ नगरपालिका नापी शाखाका अमिन अनिल शाहले जानकारी दिनुभयो ।नापजाँचको काम पुरा गरी नक्सा तयार पारेर आयोगलाई बुझाएपछि धनीपूर्जा वितरण प्रक्रिया शुरु हुने उहाँको भनाई छ ।आयोगले यसअघि निजगढ नगरपालिका वडा नम्बर ४ को कछडिया टोल, सोही वडाको पुरानो टोलको नयाँबस्ति र वडा नम्बर ८ को खयरघारीमा जमिन नापचाँजको काम पूरा भएको छ ।

Leave a Reply