नेकपा एमाले नेपालको लागि पुरानो कम्यूनिष्ट पार्टी हो । २०४६ पछि जसले जे भनेपनि सरकार र प्रतिपक्षमा रहेर एमालेले कम्यूनिष्टको छाप जनमानसमा छाड्न सफल भएको हो ।विशेषगरी २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि र उहाँको छोटो शासनकालमा केही रचनात्मक काम भएपछि एमाले जनताका माझ थप लोकप्रिय बनेको थियो । मदन भण्डारीको हत्या अनि मनमोहनको पनि निधनपछि एमालेको नीति केही स्वार्थमा गएको धेरैले बुझेको थिए र यो आरोप अहिलेसम्म पनि माधव नेपाललाई लाग्दैआएको छ ।
लामो समय एमालेको नेतृत्वमा रहेका कारण पनि कतिपय जस र अपजसको भागिदार माधव नेपाल हुनु स्वभाविक नै हो तर जब एमालेको अध्यक्षमा केपी ओलीको आवागमन भयो अनि एमाले चैं फरक भएर अगाडि आएको छ ।
विशेषगरी आफ्ना विरोधी वा विरोध गर्नेलाई ओलीले ठेगान लगाउन खोजेको जस्तो देखिन्छ । शुरुमा माधव नेपालहरु अनि हालै भीम रावलहरु । माधव नेपालले त पार्टी विभाजन गरेको हुनाले एक हदसम्म कारबाही ठीकै पनि होला ।
तर, भीम रावलहरुलाई एकाएक कारबाही गरिनु ओलीको अहंकारको उजागर हो । कम्यूनिष्ट पार्टी त नेताको नभइ नीतिको पछाडि लाग्ने पार्टी हो तर केपीले नेताको पछि लाग्न बाध्य बनाएको पनि देखिन्छ । केपी ओली जिवित रहँदासम्म त एमाले यसैगरी पनि चल्ला तर त्यसपछिको अवस्थामा एमालेको भविष्य अलि राम्रो देखिदैन । त्यसैले फरक मत राख्दैमा गरिएको यस्तो कारबाही त अहंकार नै हो । दम्भ नै हो ।