राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्जनिक गरेको छ ।
नगर प्रमुख प्रधुमन चौहानको आदेशमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले ५१ करोड ९० लाख १४ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रदेश सांसद प्रह्लाद गिरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नीति तथा कार्यक्रममार्फत नगर प्रमुख प्रधुमन चौहानले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाई, पर्यटन र भौतिक पुर्वाधार विकासको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा पूजीगततर्फ २३ करोड १५ लाख तथा चालू खर्चतर्फ २८ करोड ७४ लाखको अनुमानित आय प्रस्ताव गरिएको हो । नगरपालिकाको कुल आन्तरिक श्रोतबाट ७ करोड २५ लाख आम्दनी मात्र देखिएको र त्यसैगरी ५१ करोड ९० लाख १४ हजार सार्वजनिक गरिएको थियो ।
निशुल्क रूपमा लोकसेवा कक्षा, शिक्षक सेवा, प्रहरी सेवा, बैंकिड्ग लगायतको तयारी कक्षा संचालन गर्ने, साथै कृिषबाट नगदेबालीको विकाश, अन्नबालीको उत्पादन बढाउने, प्रविधि तथा मलको सहुलित उपलब्धता गराउने लगायतको योजनालाई प्राथमिकतामा राखिएको छ ।
कार्यक्रममा उपमेयर रुबी ठाकुर, प्रमुख प्रसाशकीय अधिकृत असोक रौनियार, संविधान सभा सदस्य रामेश्वर रौनियार, निवर्तमान उपमेयर सलमा खातुन, समाजसेवी खलिल मिया, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ अध्यक्ष श्रीकिशुन चौहान, नेकपा एमालेका नगर अध्यक्ष विन्ध्याचल ठाकुर, नेमकिपाका ईसलाम मियाँ, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पन्नालाल पटेल लगायतकाले शुभकामना व्यक्त गर्नु भयो थियो ।
कार्यक्रममा वडा अध्यक्ष प्रमोद गिरी, केदार महतो, रामप्रबेश चौहान, लक्ष्मण साह, महेन्द्र महतो चौहान, सियानन्द चौहान, प्रमेन्द्रप्रसाद कुर्मी, किशोरी साह, नौसाद आलम, सोनालाल साह, कार्यपालिका सदस्य अजय गुप्ता, रामबचन महतो, राधा साहलगायतको सहभागिता रहेको थियोे । कार्यक्रम संचालन लेखापाल मनोज तिवारीले गर्नुभएको थियोे ।
सखुवाप्रसौनीको बजेट ५७ करोड ६९ लाख २१ हजार ७६
सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७९,८० को नीति तथा कार्यक्रम सार्जनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले नीति तथा कार्यक्रममार्फत ५७ करोड ६९ लाख २१ हजार ७६ रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ । यसको अलावा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई नीति तथा कार्यक्रममा बढी जोड दिइएको छ ।
गाउँपालिकाका सुत्केरी, गर्भवति महिला, सुत्केरी महिला र ज्येष्ठ नागरिकका लागि निःशूल्क एम्बुलेन्सको व्यवस्था गर्ने, गाउँपालिकामा बिबिएस कक्षा संचालनमा ल्याउने, बाँकी रहेको स्वास्थ्य संस्थामा बर्थिंग सेन्टर संचालनमा ल्याउने र वडा नं २ मा १५ सैयाको अस्पताल स्थापना गर्ने विशेष योजना रहेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताउनुभयो ।
ऐतिहासिक पारसनाथ मन्दिरलाई धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । पर्सागढीको कोइलाभार मन्दिरदेखि सखुवनीया हुँदै सिद्धपुरस्थित शिवधाम मन्दिरलाई पनि धार्मिक पर्यटकीय क्षेत्र बनाइने अध्यक्ष यादवले बताउनुभयो ।
युवा तथा खेलकुद क्षेत्रको विकासको लागि पनि गाउँपालिका गंम्भीर रहेको अध्यक्ष यादवको भनाइ छ । शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गर्ने गरी काम गर्ने अध्यक्ष यादवको प्रतिबद्धता छ ।
गाउँपालिकाका अध्यक्ष यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, वडा नम्बर १ का वडा अध्यक्ष बासुदेव महतो थारु, २ का अध्यक्ष चिरंजिवीप्रसाद महतो थारु, ३ का अध्यक्ष मोजामिल अन्सारी, ४ का अध्यक्ष महम्मद अरिफ अन्सारी, ५ का अध्यक्ष अशेश्वरप्रसाद यादव र ६ का अध्यक्ष मुन्नाप्रसाद कम्कर, वडा सदस्य, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
जगरनाथपुरमा ४९ करोड ३२ लाखको अनुमानित बजेट प्रस्तुत
पर्साको जगरनाथपुर गाउँपालिकाको ७ औं गाउँसभाले अगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम शुक्रवार सार्जनिक भएको छ । नीति तथा कार्यक्रममा ४९ करोड ३२ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
बजेटमा शिक्षातर्फ ११ करोड २४ लाख, स्वास्थ्यतर्फ २ करोड २८ लाख, कृषितर्फ १ करोड २६ लाख, समाजिक विकासतर्फ दुई करोड ४१ लाख, पूर्वधार विकासतर्फ १५ करोड २३ लाख, समाजिक सुरक्षातर्फ ८ करोड र चालुतर्फ ९ करोड गरि ४९ करोड ३२ लाख बराबरको बजेट गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘विद्यालयहरुमा विद्यार्थीहरुलाई ल्याऔं, टिकाऔैं र सिकाऔं’ अभियान संचालन गरिने बताउनुभयो । साथै उहाँले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाइने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कक्षा १० का विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गरिने छ, एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र÷छात्राहरुलाई प्रोत्साहनसहित छात्रवृत्ति प्रदान गरिने छ ।’
अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने बताउनुभयो । उहाँले सासु, ससुरालाई राम्रोसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत बताउनुभयो । उहाँले बिजबनिया र औंराहमा बर्थिङ सेन्टर संचालन, प्रत्येक वडाका स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था, र गाउँपालिकामा १५ बेडको अस्पताल संचालनको लागि संघ र प्रदेश सरकारसंग पहल गरिने पनि बताउनुभएको छ । उहाँले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउन दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढिरहेको पनि बताउनुभयो ।
गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरमा भएको गाउँ सभाको नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले उद्धाटन गर्नुभएको थियो ।

















