कलैया,जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कमिटीको समायोजन प्रक्रिया पुरा नहुँदै फुटको संघारमा पुगेपछि त्यसको प्रत्यक्ष असर प्रदेश २ सरकारमा परेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै प्रदेश २ को राजनीतिमा हलचल पैदा भएको हो । उपेन्द्र–बाबुराम पक्षधर जसपाको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए पार्टीबाटै निष्कासन गर्ने निर्णयपछि प्रदेश २ को सत्ता समीकरण फेरबदल हुने निश्चितजस्तै भएको छ । जसपाको एकल सरकार रहेको प्रदेश २ मा ठाकुर र महतो पक्षधर मन्त्रीलाई हटाएर कांग्रेस, एमालेको माधव नेपाल समूह र नेकपा माओवादी माओवादी केन्द्र सम्मिलित गठबन्धनको सरकार निर्माणका लागि छलफल थालिएको छ । तत्कालीन राजपाबाट भौतिक पूर्वाधार विकास मन्त्री बन्नुभएका जितेन्द्र सोनललाई हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री लालबाबु राउतलाई निर्देशन दिएको स्रोतको दाबी छ । त्यसैगरी तत्कालीन राजपाबाटै उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्नुभएका सुरेश मण्डल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झालाई पनि हटाउने तयारी रहेको बताइएको छ । प्रदेश २ सरकारबाट हटाउने तयारी थालिएका मन्त्री सोनल, राज्यमन्त्री मण्डल र शर्मा महन्थ ठाकुर निकट हुन् भने डिम्पल अनिल झाकी श्रीमती हुन् । यद्यपि प्रदेशका मन्त्री हटाउने–नहटाउने विषयमा निर्णय भने भइसकेको छैन ।

Leave a Reply