काठमाण्डौ – नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ ।काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवार भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । यस्तै दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेको हो ।
नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक निकालेको थियो । महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो जीत थियो । प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, इरान र माल्दिभ्स गरी पाँच वटा देश सहभागी थिए ।यसअघि सन्‌ २०१९ मा‌ नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा भारतसँग खेलेको थियो । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग ३–२ सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।

Leave a Reply