वीरगञ्ज,शनिबारदेखि सुरु भएको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा आयोजक वीरगञ्ज युनाइटेड क्लब वीरगञ्ज उद्घाटन खेलमा विजयी भएको छ ।मधेस प्रदेशकै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको शनिवार वीरगञ्जको आर्दशनगर रंगशलामा सम्पन्न उद्धाटन खेलमा वीरगञ्ज युनाइटेड क्लबले १–० गोलअन्तरले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई पराजित गरी विजयी सुरुवात गरेको हो ।

पहिलो हाफमा कुनै टिमले पनि गोल गर्न नसके पनि खेलको ५२ औँ मिनेटमा गरवाल डाइमण्ड फुटबल क्लबका खेलाडी सन्दिप रानाले आत्मघाती गोल गरेपछि वीरगञ्ज युनाईटेड क्लबले अग्रता पाएको थियो ।गोल फर्काएर खेलमा फर्कन निरन्तर प्रयास गरेको गरवाल डाइमण्ड फुटबल क्लबले अन्तिमसम्म गोल गर्न नसकेपछि हार व्यहोरेको हो । खेलको म्यान आफ दि म्याच वीरगञ्ज युनाईटेड क्लबका खेलाडी विपिन मगर घोषित भएका थिए ।आइतवारको खेल सहलेश फुटबल क्लब सिरहा र संकटा फुटबल क्लब काठमाडौँबिच आयोजकले जनाएको छ । प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब गरी राष्ट्रियस्तरका आठ फुटबल टिम सहभागी हुने आयोजकले जनाएको छ ।

दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगितामा विजेता टिमले नगद ११ लाख ११ हजार एक सय एघार रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टिमले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ जुन मधेस प्रदेशकै सर्वाधिक पुरस्कार रहेको दाबी गरिएको छ ।मुख्य प्रायोजक वीरगञ्ज महानगरपालिका रहेको यस प्रतियोगिता खेल हेर्न आउने दर्शकलाई लक्षित गरेर बाँसको प्रयोग गरी अस्थायी प्याराफिट निर्माण गरिएको छ ।अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन अट्ने क्षमता रहेको र चौरमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको आयोजकले जनाएको छ ।प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले उदद्धाटन गर्नुभएको थियो ।

Leave a Reply