कृष्ण मोहन साह
सेढवा,सामान्य ज्वरो आउँदा समेत सिटामोल किन्न घना जङ्गल छिचोल्नु पर्ने चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र रहेको पर्साको सिकारीवासमा स्वास्थ्य सेवा सन्चालनमा आएको छ ।
ठोरी गाँउपालिका वडा नम्बर ३ मा पर्ने आदिवासी थारु बाहुल्य गाउँ सिकारीवासमा यसअघि राज्यले प्रदान गरेको प्रत्यक्ष सेवा विद्यालयमात्र रहेको थियो । ठोरीकै पुरानो गाउँ मध्येको एक सिकारीवास गाउँमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ठोरी गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई सन्चालनमा ल्याएको ठोरी– ३ का वडाध्यक्ष सुर्यबहादुर लामाले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा नै सामुदायिक स्वास्थ्य इकाई सन्चालनको लागि ३ लाख रुपैया खर्च गरेर भवन निर्माण गरेको ठोरी गाउँपालिकाले सोमवारदेखि स्वास्थ्य सेवा सन्चालन आरम्भ गरेको हो । सिकारीबासमा सोमवार आयोजित एक कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पद्मलाल श्रेष्ठले सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्दै स्वास्थ्य सेवा प्रारम्भ गरेको घोषणा गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सिकारीबासमा अत्यावश्यक खानेपानीको व्यवस्था गरिएको र स्वास्थ्य सेवा सन्चालनमा ल्याइएको बताउनुभयो । उहाँले विद्युत सेवाका लागि प्रक्रिया समेत आरम्भ भैसकेको जानकारी गराएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा वडाध्यक्ष लामा, नेरामावि ओडारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर श्रेष्ठ लगायत स्वास्थ्यकर्मी एवम् स्थानीयको उल्लेख्य सहभागिता थियो ।
करीब ६० घरधुरी आदिवासी थारु समुदायको बाहुल्य रहेको १५० वर्षभन्दा पुरानो गाउँ सिकारीवासमा पहिलोपटक प्रत्यक्ष स्वास्थ्य सेवा सन्चालनमा आएको हो । यस अघि सिटामोल किन्न समेत घना जङ्गल छिचोलेर ठोरी –४ को बिजयवस्ती वा ३ को बुद्धनगर पुग्नुपर्ने स्थानीयबासीलाई बाध्यता थियो । करीब २५० जनसंख्या बसोबास गर्ने सो क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न नियमित स्वास्थ्यकर्मी खटाइने वडाध्यक्ष लामाले जानकारी दिनुभयो । लामाले राज्यले निशुल्क प्रदान गर्ने सबै प्रकारको औषधिको प्रबन्ध गरेर सिकारीबासका स्थानीयले पाउनुपर्ने न्युनतम स्वास्थ्य सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।