काठमाण्डौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले यस्तो निर्देशन दिनुभएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभइ पार्टीका रुपमा आफ्ना धारण राख्न निर्देशन दिएको बताउनुभएको छ । बैठकमा मन्त्रीहरूले सरकारका काम, कारबाहीबारे जानकारी गराएका थिए । उहाँका अनुसार बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन छलफल भएको छ ।
नेपाली कांग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको उहाँले बताउनुभयो ।